अवैध सामान बरामद भएपछि प्रहरीले नियन्त्रणमा लिएका दुईवटा ट्रक ।

हेटौँडाः बारा प्रहरीले सोमबार १ करोड ४६ लाख रुपैयाँ बराबरको अबैध सामान नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जीतपुर–सिमरा उपमहानगरपालिका–२१ अमलेखगंजबाट २ वटा ट्रकहरूलाई रोकी सुरक्षाजाँच गर्दा बिल भरपाई भन्दा बढि सामान रहेको र स्रोत खुलाउन नसकेको १ करोड ४६ लाख ७९ हजार ७ सय ६८ रूपैयाँ बराबरको सामान बरामद गरेको जनाएको छ ।

सोमबार बिहान ६ बजेर ३० मिनेटको समयमा वीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ७९२७ नम्बरको ट्रकमा लोड गरेको लेडिज सुट, धागो, जारी दाना, प्रिन्ट कपडा, माला लकेट, मेटल धुरा र अन्य खुद्र समानहरू गरी ६६ लाख ९० हजार रूपैयाँ बराबरको बिल भरपाई भन्दा बढी स्रोत खुलाउन नसकेको बस्तु बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै सोमबार बिहान ९ बजेर ३० मिनेटको समयमा वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २७१९ नम्बरको ट्रकमा लोड गरेको मोबिल, वेडसिट कपडा, स्टेशनरी, मोटर पार्टस, वेकरी आईटम र अन्य खुद्र सामानहरू ७९ लाख ८९ हजार रुपैयाँ बराबरको बिल भरपाई भन्दा बढी स्रोत खुलाउन नसकेको सामान प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले सामानसहित नियन्त्रणमा लिएको ट्रक आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जनाएको छ ।