हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले रात्रिकालीन मेला महोत्सव तथा जात्राहरु बन्द गर्ने भएको छ । बुधबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको पालिकाका प्रवक्ता एवम् बागमती–३ का वडाध्यक्ष कमानसिंह पाख्रिनले जानकारी दिनुभयो ।

पालिकाभित्र लाग्ने रात्रिकालीन मेला महोत्वसमा झैझगडा हुने, मादकपदार्थ र लागूपदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना हुनेजस्ता घटनाहरु बढ्न थालेपछि यस्तो निर्णय गरेको प्रवक्ता पाख्रिनले बताउनुभयो । धार्मिक आस्थाका जात्राहरु भने चल्ने तर राति कुनै किसिमका कार्यक्रमहरु गर्न नपाउने उहाँले बताउनुभयो ।

यस्तै, विपद व्यवस्थापनका लागि तत्काल सामग्री वितरण गर्ने निर्णय गरेको छ । आगलागी र अन्य विपद व्यवस्थापनको पूर्वतयारीका लागि उक्त सामग्रीहरु वितरण गर्न लागेको हो । बैठकले केही दिनअगाडि खरिद गरेको मापसे चेकजाँच गर्ने ब्रेथलाइजर मेसिनको भुक्तानी दिने, खोला र नदीमा बम, करेन्ट र विष हाल्न बन्देज गर्ने र यस्तो गरेको पाइएमा कारबाही गर्ने भएको छ । पालिकाभित्र वस्तुभाउ चरिचरण बन्द अभियान चलाउने भएको छ । नगर प्रहरी र अन्य टोलीले यी सबैको अनुगमन गर्ने उहाँले बताउनुभयो ।