हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले ३२ जना शिक्षकको दरबन्दी थपघट गरी मिलान गर्ने भएको छ । उपमहानगरपालिकाको नगर शिक्षा शाखा समितिको गत चैत ३० गतेको निर्णय अनुसार विभिन्न विद्यालयको प्रारम्भीक बालविकास र प्राथमिक तहको दरबन्दीका शिक्षकहरु थपघट गरी दरबन्दी मिलान गर्न लागेको शिक्षा विकास महाशाखा प्रमुख सीताराम कोइरालाले जानकारी दिनुभयो ।
उपमहानगरभित्रका १७ वटा विद्यालयका बालविकासतर्फ ७ जना र प्राथमिक तहका २५ जना शिक्षकको दरबन्दी काटिने भएको छ । साथै, उपमहानगरपालिकाले २७ विद्यालयमा ४० जना शिक्षकको दरबन्दी थप गर्ने निर्णय गरेको छ । बालविकासतर्फ नयाँ ८ जना शिक्षकको दरबन्दी कायम, प्रारम्भीक बालविकासतर्फ ७ जना र प्राथमिक तहका २५ जना दरबन्दी मिलान गर्ने भएको छ ।
दरबन्दी काटिने विद्यालयबाट थप हुने विद्यालयमा जानका लागि इच्छुक शिक्षकहरुले शिक्षा विकास महाशाखामा निवेदन दिन भनिएको छ । दरबन्दी काटिने विद्यालयहरुबाट दरबन्दी थपिने र नकाटिने विद्यालयमा रिक्त भएको दरबन्दीमा जान चाहनेले १५ दिनभित्र निवेदन दिन महाशाखाले सूचित गरेको हो ।