स्विमिङ पुल र क्रिकेट रंगशाला शिलान्यास गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेल

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटार अन्तर्राष्ट्रिय रंगशाला परिसरमा स्विमिङ पुल र क्रिकेट रंगशाला शिलान्यास भएको छ । शनिवार प्रदेश खेलकुद विकास परिषद्का संरक्षक एवम् वागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले स्विमिङ पुल र क्रिकेट रंगशाला शिलान्यास गर्नुभएको हो ।

प्रदेश सरकारको २० करोड ३६ लाख ६१ हजार लगानीमा स्विमिङ पुल र क्रिकेट रंगशाला निर्माण हुन लागेको हो । २३ बिगाहा क्षेत्रफलमा फैलिएको अन्तर्राष्ट्रिय रंगशालामा विभिन्न किसिमका १९ प्रकारका संरचना निर्माण हुनेछ । जसमा कभर्डहल ९ वटा, बहुउद्देश्यीय कभर्डहल एउटा, फिटनेस सेन्टर, रेसिङ ट्राक, खेलाडी होस्टेल, अफिस, ब्लग र कन्फ्रेन्स हल निर्माण हुनेछन् ।

८ करोड ६२ लाख ६१ हजारमा स्विमिङ पुल निर्माणका लागि पीएम–एसकेसी जेभी कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको छ । गत चैत ३० गते ठेक्का सम्झौता गरेको कन्स्ट्रक्सने २०८२ साल असार मसान्तसम्म उक्त कार्य सम्पन्न गर्नु पर्नेछ । उक्त सम्झौताअनुसार २ वटा स्विमिङ पुलसहित प्यारापिट निर्माण हुनेछ ।

यस्तै, क्रिकेट मैदान निर्माणका लागि एसएसपी–एचकेसी जेभीले ११ करोड ७४ लाखमा निर्माणको ठेक्का पाएको छ । निर्माण कम्पनीले गत चैत ३० मा ठेक्का सम्झौता गरेको हो । उक्त रंगशाला २०८२ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नु पर्नेछ । रंगशालामा ६ हजार भीआइपी अट्ने प्यारापट, ग्राउन्ड लक स्प्रिङ्ग, क्रिकेट पिच ५ वटा, स्कोर बोर्डलगायत फिनिसिङका कामहरु हुनेछ ।

कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सकारात्मक ढङ्गले स्थानीय तहले बुझेको बताउँदै खेल क्षेत्रको अनुभूति यस रंगशालामा आउँदा हुने धारणा राख्नुभयो । विभिन्न स्थानमा सरकारी संरचना निर्माण गर्दा राजनीतिकरणले गर्दा ठेकेदारहरूले काम गर्न सकस हुने गरेकाले समस्या आउने गरेको उहाँको भनाइ छ । प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माणको क्रममा रहेकाले यस क्षेत्रमा सरकारले लगानीमा जोड दिने आश्वासन दिनुभयो ।

प्रदेश सरकारले स्पष्ट साथ संरचना निर्माणका लागि आवश्यक बजेट विनियोजन हुने प्रतिबद्धता मन्त्री मोक्तानले व्यक्त गर्नुभयो । कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले खेलकुदको संरचना निर्माणका लागि चासो देखाएकाले निर्माणको कार्य द्रुत गतिमा अगाडि बढ्ने जानकारी गराउनुभयो ।

शिलान्यास कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष एवम् सामाजिक विकासमन्त्री कुमारी मोक्तानको सभाध्यक्षता तथा मुख्यमन्त्री जम्कट्टेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, संविधानसभा सदस्य प्रल्हाद लामिछाने, सामाजिक विकास मन्त्रालयका सचिव भीष्म भुसाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, प्रदेश खेलकुद विकास परिषद्का सचिव सूर्यलाल भण्डारी, ६ नम्बर वडाका अध्यक्ष विष्णुबहादुर दाहाल, १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला, १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तानलगायत स्थानीय प्रनिधिहरुको उपस्थिति रहेको थियो ।