हेटौंडाः हेटौंडा–१, चाइना क्वाटरस्थित अमर माध्यमिक विद्यालयमा ८१ जना नयाँ विद्यार्थी भर्ना भएका छन् । बैशाख २ गतेदेखि आइतबारसम्म ८१ जना नयाँ विद्यार्थी भर्ना भएका हुन् ।

६ सय ६३ जना पुराना विद्यार्थीहरु रहेको विद्यालयमा हाल ५ सय विद्यार्थीहरु नियमित विद्यालय आउने गरेको सूचना अधिकारी रमेशकुमार बर्तौलाले जानकारी दिनुभएको छ । गतवर्षको तुलनामा विद्यार्थीहरुको संख्या बढेको उहाँले बताउनुभएको छ ।

अभिभावक नभएका विद्यार्थीहरुका लागि पहिलादेखि नै निःशुल्क शिक्षा दिने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अभिभावक नभएका विद्यार्थीहरुका लागि विद्यालयले निःशुल्क पुस्तक, विद्यालय पोशाक उपलब्ध गराउँदै आएको छ । ७५ प्रतिशत पुस्तक विद्यालयले वितरण गरिसकेको उहाँको भनाइ छ । विद्यालयमा नयाँ कार्यतालिका बनाएर सोहीअनुसार कडा अनुशासनका साथ राम्ररी पढाइ हुने गरेको उहाँले बताउनुभयो ।