नेपालमा धेरै चाडपर्व तथा दिवस मनाउने गरिन्छ । यस्तै, दिवसमध्येको एउटा हो, लोकतन्त्र दिवस । हरेक वर्ष बैशाख ११ गते लोकतन्त्र दिवस बनाउने गरिन्छ । यो दिवस मनाउन थालेको १८ वर्ष भएको छ । सुरुवातका दिनमा लोकतन्त्र दिवसलाई विशेष महत्व दिएर देशभर सार्वजनिक विदा दिइन्थ्यो । पछिल्ला वर्षहरुमा लोकतन्त्र दिवसको विदा कटौतीसँगै यो दिवस पनि ओझेलमा पर्न थालेको अनुभूति भइरहेको छ । लोकतन्त्रलाई विश्वकै सबैभन्दा उदार र उच्चतम राजनीतिक शासन प्रणाली मानिन्छ । लोकतन्त्रमा जनताको प्रत्यक्ष शासन हुनुका साथै राज्य सञ्चालनको शक्ति पनि जनतामा नै केन्द्रित हुन्छ । जनताले छानेका प्रतिनिधि वा नेतृत्वले देशको शासन व्यवस्था सञ्चालन गर्ने गर्दछन् । जनताले आफ्नो मौलिक हक तथा मानव अधिकारको सहज उपयोग गर्ने सुविधा लोकतन्त्रमा हुन्छ । राज्यका हरेक नागरिकलाई लोकतान्त्रिक शासन व्यवस्थाको अनुभूति गराउन राजनीतिक दल र तिनका नेतृत्व सदैब तत्पर बन्नुपर्छ ।
निरंकुश राणा शासनको अन्त्यपछि वि.सं २००७ सालमा नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो । प्रजातान्त्रिक व्यवस्थाको राम्रो अभ्यास र अनुभूति हुनै नपाई २०१७ सालमा एकदलीय पञ्चायती शासन व्यवस्था लागू भयो । पञ्चायती व्यवस्था प्रजातन्त्रभन्दा धेरै निरंकुश बनेपछि करिब ३० वर्षसम्म नेपाली नागरिक लोकतान्त्रिक वा प्रजातान्त्रिक अधिकारबाट वञ्चित बन्नुपर्यो । २०४६ सालमा राजनीतिक दलहरु मिलेर पञ्चायती शासन व्यवस्थाविरुद्ध आन्दोलन गरेकै कारदेशमा पुनः बहुदलीय प्रजातान्त्रिक व्यवस्था लागू भयो । यसपछि माओवादी सशस्त्र संघर्ष, राजदरबार हत्या काण्ड हुँदै तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका आरोह अवरोह भोग्दै धेरै नेपालीको जीवनशैलीलाई संघर्षमय बनायो । जनताले सोचेअनुरुप अधिकार, सहुलियत र अवसर पाउन सकेनन् । तत्कालीन राजाको प्रत्यक्ष शासनविरुद्ध राजनीतिक दलहरु आन्दोलित बनेपछि २०६२/०६३ को जनआन्दोलनको सफलतासँगै देशमा लोकतन्त्र आएको घोषणा भयो ।
२०६२/६३ सालको दोस्रो जनआन्दोलनले सफलता प्राप्त गरेको दिनको सम्झनामा त्यसयता वर्षेनि लोकतन्त्र दिवस मनाइँदै आएको छ । दोस्रो जनआन्दोलन उत्कर्षमा पुगेपछि २०६३ साल बैशाख ११ गते पूर्वराजा ज्ञानेन्द्रले ‘जनताको नासो जनतालाई फिर्ता दिएको’ उद्घोषसहित प्रतिनिधिसभा पुनस्थापना गरे को खु शीयालीमा यो दिवस मनाउन थालिएको थियो । सोही जनआन्दोलनको बलमा पुनस्र्थापित प्रतिनिधिसभाले राज्यको अधिकार कटौती गर्दै अन्ततः राजतन्त्र नै अन्त्य गर्ने बाटो पहिल्याउन सफल भयो । नेपालको राजनीतिक इतिहासमा २०६२/६३ को जनआन्दोलन र त्यसबाट प्राप्त उपलब्धिकै रुपमा लोकतन्त्रलाई लिइन्छ । सोही उपलब्धीका कारण आम नेपाली जनताले लेख्ने, बोल्ने, छाप्ने, सभा–संगठन गर्न पाउने, पार्टी खोल्ने र त्यसमा सहभागी हुन पाउने, प्रतिनिधि चयन गर्न र सरकार बनाउन पाउनेजस्ता अधिकार पाएका छन् ।
जनताले धेरै अधिकार प्राप्त गर्ने भएकाले लोकतन्त्रलाई राम्रो शासन प्रणाली मानिन्छ । नेपाली जनताको महान बलिदान र तपस्याको कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । लोकतन्त्रमा राज्यले बहुलवाद, आवधिक निर्वाचन, व्यक्तिगत स्वतन्त्रता, कानुनी राज्य र मानवअधिकारको प्रत्याभूति दिएको हुनुपर्छ । यसैकारण लोकतन्त्रमा बहुसंख्यक जनताले आफ्नो देशको सरकारप्रति विश्वास गरेका हुन्छन् । तर, नेपाली लोकतन्त्रमा सरकारले जनताको हितको पक्षमा काम गर्न सकेको छैन भन जनताको विश्वास पनि सरकारप्रति पटक्कै छैन । सीमित पार्टीका सीमित व्यक्तिबीच सिमित बनेको लोकतन्त्र पछिल्ला वर्षहरुमा गुमनाम बन्दै जानुलाई स्वभाविक मान्न सकिँदैन । हरेक नेपाली जनताले लोकतन्त्रको सुखद् अनुभूति गर्नु आवश्यक छ । जनतालाई लोकतन्त्रबारे सचेत बनाउन र लोकतान्त्रिक अधिकार खोजी गर्न लोकतन्त्र दिवस सहयोगी बन्नुपर्छ ।