नवनियुक्त प्रधानाध्यापक हीरालाल जिम्बा ।

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिका–९ स्थित कालीदेवी माध्यमिक विद्यालयको प्रधानाध्यापकमा हीरालाल जिम्बा नियुक्त हुनुभएको छ । सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले जिम्बालाई प्रधानाध्यापकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

माध्यमिक तहको प्रधानाध्यापक मध्ये जिम्बा गाउँपालिकाकै कान्छो प्रधानाध्यापक बन्नुभएको छ । जिम्बा २६ वर्षको उमेरमा नै प्रधानाध्यापक बन्नुभएको हो । यसअघिका प्रधानाध्यापक हरिवंश चौधरीले राजीनामा दिनुभएपछि जिम्बालाई प्रधानाध्यापक नियुक्त गरिएको हो । यसअघि सहायक प्रधानाध्यापक रहनुभएका जिम्बाले विद्यालयमा शैक्षिक सुधार आवश्यक रहेको बताउनुभयो ।

कालीदेवी माविमै कक्षा १० सम्म अध्ययन गर्नुभएका जिम्बाले १२ कक्षा भूटनदेवी माविमा अध्ययन गरी स्नातक तह काठमाडौंको महेन्द्ररत्न क्याम्पसबाट गर्नुभएको थियो । २०७१ सालबाट १७ वर्षकै उमेरमा जिम्बाले सोही विद्यालयमा निजी स्रोतको शिक्षक भई अध्यापन गराउन थाल्नुभएको हो । २०७४ सालमा जिम्बाले करारमा कैलाश गाउँपालिकास्थित व्यास माविमा अध्यापन गराउनुभएको थियो । जिम्बा २०७५ सालमा स्थायी शिक्षक नियुक्त हुनुभएका जिम्बाले व्यास माविमा नै १ वर्ष अध्यापन गराउनुभयो । २०७७ सालमा सरुवा भएर जिम्बा कालीदेवी मावि आउनुभएको हो ।

कक्षा १० सम्म अध्यापन हुने कालीदेवी माविमा १६ जना शिक्षक छन् भने ३ सय ८० जना विद्यार्थी अध्ययनरत छन् । आफूले विद्यालयमा अध्यापन गराउन थालेपश्चात् कक्षा ८ को विद्यार्थीको नतिजामा केही सुधार आएको जिम्बाले दावी गर्नुभयो । गत वर्षहरूमा एसईईमा २–३ जनामात्र उत्तीर्ण हुने गरेकोमा यस वर्ष विद्यालबाट १८ जनाले एसईई परीक्षा दिएको जानकारी दिँदै १० जना विद्यार्थीको राम्रो अङ्क आउने आशा रहेको जिम्बाको भनाइ छ ।

विद्यालयमा शैक्षिक, भौतिक अवस्था सुधार गर्दै लैजाने जिम्बा बताउनुहुन्छ । ‘आफ्नै गाउँको विद्यालयमा शिक्षामा सुधार गर्नुपर्छ भनेर मलाई जिम्मेवारी दिइएको छ, म पूर्णरुपले विद्यालयमा सशक्त भएर काम गर्नेछु,’ जिम्बाले भन्नुभयो, ‘विद्यालयमा देखिने भनेको ८ र १० कक्षाको परीक्षाको नतिजा भए पनि तल्लो तहबाट नै शिक्षामा सुधार गर्दै जानेछु ।’