एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरीबीच सम्झौतापत्र साटासाट गर्दै ।

हेटौंडाः अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित वल्सलादेवी माविमा एन्फा एकेडेमी सञ्चालन गर्नेे भएको छ । एकेडेमी सञ्चालनका लागि शुक्रबार एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

एन्फाका महासचिव किरण राईका अनुसार एकेडेमीमा १३ वर्षमुनीका ३० जना खेलाडी राखिनेछ । अहिले एन्फाले १३ वर्षमुनीका छनौटअन्तर्गत् प्रदेश छनौट चरणमा रहेको उहाँले बताउनुुभयो । प्रदेश–प्रदेशबाट छनौट भएकाहरुबाट छनौट गरी २५ जनालाई उक्त एकेडेमीमा राखिने उहाँले बताउनुभयो । बाँकी पाँच जना भने विद्यालयकै विद्यार्थी राखिने उहाँले बताउनुभयो ।

एन्फाले मकवानपुरसँगै बुटवल र च्यासलमा पनि एकेडेमी सञ्चालन गर्ने उहाँले बताउनुभयो । एन्फाले एकेडेमीका लागि ४ वर्षसम्मको सम्झौता गरेको छ । एन्फाले वार्षिक एकेडेमीका लागि २६ लाख रुपैयाँ, प्रशिक्षक र सामग्रीहरु उपलब्ध गराउने महासचिव राईले बताउनुभयो । खेलाडीहरुलाई पढाईसँगै फुटबल प्रशिक्षण गराएर राष्ट्रिय खेलाडी उत्पादन गर्ने एन्फाको लक्ष्य रहेको महासचिव राईको भनाइ छ ।

एकेडेमीका संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठकुरीले एकेडेमीका लागि आवास, ग्राउण्ड र स्वास्थ्य उपचार विद्यालयको तर्फबाट उपलब्ध हुने बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई रुचिअनुसारको विषय पढाएर फुटबल प्रशिक्षणमा सरिक गराउने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, उपाध्यक्ष उमाकुमारी लामा, एन्फा केन्द्रीय उपाध्यक्ष दीपक खतिवडा, केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामा, मकवानपुर जिल्ला फुटबल संघका महासचिव छवि सुवेदी, सचिव सुनिल लोप्चन र सदस्य नितेश लामालगायतको उपस्थिति रहेको थियो ।