पत्रकार महासघको आयोजनामा भएको सचार क्षेत्रको चुनौती विषयक कार्यक्रमको तस्विर

हेटौंडाः हेटौंडामा सञ्चार क्षेत्रको वर्तमान सम्भावना र चुनौती विषयमा अन्तरक्रिया तथा कार्यशाला कार्यक्रम भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कार्यक्रम भएको हो ।

महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष गौतमले सदस्यता शुद्धिकरणको विषयमा कुरा उठाउनुअघि आफूले महासंघलाई कति प्राथमिकता दिएको छु ? महासंघले आयोजना गरेको कार्यक्रममा सहभागी भएको छ कि छैन ? भन्ने कुराको मूल्यांकन सबै सञ्चारकर्मीले गर्नुपर्ने बताउनुभएको छ । सम्भावना र चुनौती दुबैको सामना गरेर पत्रकारितामा काम गर्दै आएको बताउनुहुँदै ३ वर्षे कार्यकालमा आफूले महासंघमार्फत् गरेको कामको मूल्यांकन गरेको बताउनुभयो । सरकारी कार्यालयमा काम गरेर पत्रकार महासंघमा सदस्यताको अपेक्षा गर्नु उचित नभएको उहाँले औंल्याउनुभयो ।

नगर उपप्रमुख बानियाँले अहिले विज्ञान र प्रविधिको युगमा सबैको हातमा मोबाइल हुने भएकाले सूचनाको पहुँच चाँडै हुने बताउनुभयो । पत्रकारिताको माध्यमबाट गलत कार्यहरुलाई न्यूनीकरण गर्नुपर्ने उहाँले बताउनुभयो । सञ्चारकर्मीहरुलाई दिने विज्ञापनमा उममहानगरपालिकाले कसैलाई विभेद नगरेको उहाँले दावी गर्नुभयो । पत्रकारको दुर्घटना बिमा र महासंघले गर्ने कार्यक्रममा उपमहानगरको साथ र सहयोग हुने उहाँको भनाइ छ ।

पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्काले पत्रकारिता पेसालाई त्यागेर सञ्चारकर्मीहरु विदेशिनुपर्ने अवस्थाको सिर्जना भएको बताउनुभयो । पत्रकारिता क्षेत्रमा सम्भावना र चुनौती दुबैको सामना गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रियस्तरमा पहिचान बढाउन सक्ने उहाँले बताउनुभयो । सञ्चार क्षेत्रलाई बचाउन स्थानीय र अन्य तहको सरकारबाट पहल नभएको उहाँले बताउनुभयो । समानुपातिक विज्ञापन नीतिको कार्यान्वयन नभएको उहाँको भनाइ छ । समस्या उठेको ठाउँमा सदस्यता शुद्धिकरणको विषयमा कुरा उठाउनुपर्ने उहाले बताउनुभयो ।

पत्रकार महासंघ बागमती प्रदेशकी उपाध्यक्ष सम्झना कार्कीले २० वर्ष पहिलाको तुलनामा सञ्चारकर्मीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताउनुभयो । सबै सञ्चारकर्मीहरुले आफ्नो कमजोरीलाई न्यूनीकरण गर्ने कार्यमा लाग्नुपर्ने भन्दै काममा इमानदार र लगनशील हुनुपर्ने बताउनुभयो ।