फाईल तस्विर ।

हेटौँडाः चौथो संस्करणको हेटौँडा मेयर कप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । हेटौँडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता भएको हो । नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र प्रसाद घिमिरेको अध्यक्षता तथा नगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो ।

हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ३ नम्बर वडाले विजयी सुरुवात गरेको छ । साविक विजेता वडा नम्बर ११ लाई ३ नम्बर वडाले सडन डेथमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । ११ नम्बर वडाका लागि देन्जन मोक्तान र मनोज घलानले एक–एक गोल गरे भने ३ नम्बर वडाका लागि सम्पूर्ण नगरकोटी र देञ्जन मोक्तानले एक–एक गोल गरे ।

टाइबेरमा पनि ३–३ गोलको बराबरीमा भएपछि नतिजाका लागि सडन डेथको सहायता लिनुपरेको थियो । टाइबेकरमा वडा नम्बर ११ बाट सुजल वाईबा, सुदीप लामा र तीर्थ तामाङले प्रहार गरेको बल गोलमा परिणत हुन सेकेन भने अभिरन योञ्जन, विजय दोङ, राजेश घिमिरे, देञ्जन मोक्तान र समीर लामाले प्रहार गरेको बल गोेलमा परिणत भएको थियो ।

यता वडा नम्बर ३ बाट निरञ्जन मगर, आयुष कार्की, सम्पूर्ण नगरकोटी, विकस मगर, गोपी बर्तौला र राजेश गोलेले प्रहार गरेको बल गोलमा परिणत भएको थियो भने अनिल नहर्कीको प्रहार पोष्टबाट बाहिरिएको थियो । म्यान अफ द म्याच वडा–३ बाट गोपी बर्तौला घोषित भए । प्रतियोगिता अन्तर्गत आइतबारको पहिलो खेलमा वडा नम्बर ५ र वडा नम्बर १० बीच हुनेछ भने दोस्रो खेल वडा नम्बर ८ र वडा नम्बर १४ बीच हुनेछ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्रप्रसाद घिमिरेले उपमहानगरले खेलकुदलाई प्राथमिकता दिएको भन्दै खुशी व्यक्त गर्नुभयो । नगर प्रमुख लामाले विकास निर्माणको कार्य सँग–सँगै खेलकुदलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो । हेटौँडालाई खेलकुदमय बनाउनका लागि विभिन्न प्रतियोगिताहरुको आयोजना गर्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।

प्रतियोगितामा हेटौँडा उपमहानगरका १९ वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख रुपैयाँ र उपविजेता टिमले एक लाख ५० हजार रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा तृतीय हुनेले ५० हजार रुपैयाँ र चौथो हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको फाइनल खेल बैशाख ४ गते हुनेछ । प्रतियोगिता आयोजनाका लागि उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँको बजेट बिनियोज भएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा, नगर उपप्रमुख राजेश बानियाँ, वडाध्यक्षहरु ढलक बहादुर थापा, सुशील घिमिरे, विष्णुबहादुर दाहाल, दामोदर गौतम, रामकृष्ण थापा, सुकराम केसी, फुर्वा दोर्जे लामा, जुना दाहाल, पेम्बा लामा, दीपक खड्का, सुनिल मोक्तान, उद्धव सत्याल, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) सदस्य टीकाराम लामाको उपस्थिति रहेको थियो ।