हेटौँडाः यस वर्षको विद्यालय शिक्षा परीक्षा (एसईई) मा मकवानपुर जिल्लाबाट दृष्टिविहिन विद्यार्थी ३ जना सहभागी छन् । ती विद्यार्थीले सहयोगीमार्फत परीक्षा दिइरहेका छन् । हेटौँडा–५, पिप्लेस्थित बालज्योति माविमा दृष्टिविहिन विद्यार्थीका लागि पठनपाठनको व्यवस्था मिलाइएको छ । बालज्योति माविमा १४ जना दृष्टिविहिन विद्यार्थी अध्ययनरत छन् ।
दृष्टिविहिन विद्यार्थीका लागि आफ्नै विद्यालयमा परीक्षा दिने व्यवस्था मिलाइएको छ । यस वर्षको एसईईमा मकवानपुरगढी गाउँपालिकाकी सञ्जीव थिङ, थाहा नगरपालिकाकी चञ्चली गुरुङ र बकैया गाउँपालिकाकी सुन्तली तामाङले सहयोगी राखेर परीक्षा दिइरहेको बालज्योति माविका प्रधानाध्यापक भरत अर्यालले जानकारी दिनुभएको छ । हेटौँडा–५, पिप्लेकी अस्मिता राईले भने दृष्टि कमजोर मात्रै भएको र आफैंले लेख्न सक्ने भएकोले परीक्षामा आफैंले लेखिरहनुभएको प्रधानाध्यापक अर्यालले जानकारी दिनुभएको छ ।
दृष्टिविहिन विद्यार्थीका लागि बालज्योति माविमा आवासीय सुविधा रहेको छ । संघीय सरकारले दृष्टिविहिन विद्यार्थीका लागि मासिक चार हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । विद्यार्थीका लागि प्राप्त रकमबाट खाने, बस्ने व्यवस्था मिलाउनुका साथै पाँच सय रुपैयाँ भने विद्यार्थीलाई नगदै उपलब्ध गराउने गरिएको छ । एसईई दिने ४ जना बाहेक कक्षा–४, ६ र ७ मा १० जना दृष्टिविहिन विद्यार्थी अध्ययनरत छन् । बालज्योति माविमा अध्ययनरत दृष्टिविहिन सबै विद्यार्थी जिल्लाभित्रकै विद्यार्थी छन् ।
नयाँ भर्ना हुन आउने विद्यार्थीलाई ब्रेल लिपीको प्रयोगमा अभ्यस्त बनाएपछि सामान्य विद्यार्थी सरह नै कक्षामा बस्ने, पढ्ने व्यवस्था मिलाइने प्रधानाध्यापक अर्याल बताउनुहुन्छ । दृष्टिविहिन विद्यार्थी सामान्य विद्यार्थीसँगै पढ्ने र उनीहरुको सिकाई उपलब्धी राम्रो भएको उल्लेख गर्नुहुँदै प्रधानाध्यापक अर्यालले भन्नुभयो, “८ कक्षासम्म दृष्टिविहिन विद्यार्थीको नतीजा सामान्य विद्यार्थीको भन्दा पनि राम्रो रहने गर्छ । ९ र १० कक्षामा पुगेपछि विशेषगरी गणित विषयका पाठहरु अध्ययन गर्न र बुझ्न कठिनाई हुँदा पढाई केही खस्कने गरेको छ ।”
बालज्योति माविमा दृष्टिविहिन २ जना शिक्षक समेत हुनुहुन्छ । भक्तपुरका प्रविण ग्वाछा स्थायी दरबन्दीका शिक्षक हुनुहुन्छ भने मकवानपुरकै विदुर अधिकारी राहत दरबन्दीका शिक्षक हुनुहुन्छ । बालज्योति माविमा एक समय दृष्टिविहिन २३ जना विद्यार्थी पुगेका थिए । यस वर्षको परीक्षामा ईन्द्रसरोवर गाउँपालिकास्थित सरस्वती बालबोधनी मावि र हेटौँडा–८ स्थित चन्द्रोदय माविका एक÷एक जना विद्यार्थीले हात भाँचिएका कारण सहयोगी राखेर परीक्षा दिइरहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरकी अधिकृत उन्नति ढकालले जानकारी दिनुभएको छ ।