६७ औं राष्ट्रिय सहकारी दिवस आज देशभर मनाइँदैछ । ‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ भन्ने नाराका साथ यसवर्षको राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । संघ, प्रदेश तथा स्थानीय सरकारको अग्रसरतामा सहकारी दिवसमा विविध कार्यक्रम भइरहेका छन् । सहकारी संघसंस्थाहरुले पनि सहकारी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिरहेका छन् । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र प्रदेश सहकारी विकास बोर्डसँगको सहकार्य एवम् मकवानपुर जिल्ला सहकारी संघको समन्वयनमा साताव्यापी कार्यक्रम गरेर सहकारी दिवस मनाइँदैछ । आज मंगलबार हेटौंडामा प्रभातफेरी, प्रवचन, पुरस्कार तथा सम्मान वितरण गर्दै सहकारी दिवस मनाइने भएको छ । मंगलबार साँझ बागमती प्रदेशभरका सहकारी संघसंस्थाहरुले दीपावली गरी सहकारी दिवस समापन गरिने कार्यक्रम तय भएको छ । बागमती प्रदेशमा चैत १४ गतेदेखि नै ६७ औं सहकारी दिवसको साताव्यापी कार्यक्रम सुरु भएको हो ।
नेपालमा सहकारी अभियान सुरु भएको दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । २०१३ साल चैत २० गते चितवनको बखानपुर (हाल शारदानगर)बाट बखानसिंह गुरुङको अगुवाईमा नेपालमा सहकारी अभियान सुरु भएको मानिन्छ । यही दिनको सम्झनामा चैत २० गतेलाई प्रत्येक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो । नेपालमा सहकारी संस्था स्थापना भएको ७ दशक पुग्न लागेको छ । पञ्चायती शासनकालसम्म सहकारीको विकास निकै मन्द गतिमा भए पनि २०४६ सालको परिवर्तनपश्चात् सहकारीको विकास निकै तीब्र गतिमा भयो । सरकारले तीनखम्बे आर्थिक नीतिअन्तर्गत् निजी, सार्वजनिक र सहकारी तीन पक्षलाई राष्ट्रिय आर्थिक समृद्धिको मेरुदण्डको रुपमा स्वीकार गरेसँगै सहकारीको महत्व झन् बढ्दै गएको छ । अहिले देशभर ३० हजारको हाराहारीमा विभिन्न प्रकार र उद्देश्यका सहकारी संस्था छन् । तर, पछिल्लो समय विशेषगरी बचत तथा ऋण सहकारी संस्थाहरुमा अनेकौं समस्याका कारण सहकारीप्रति सदस्य र आम नागरिकको विश्वास कम हुँदै गएको छ ।
‘सबैका लागि एक, एकका लागि सबै’ भन्ने अवधारणाबाट विकास भएको सहकारी न्यून आय भएकाहरुका लागि निकै सहयोगी बनिरहेको छ । विशेषतः ग्रामीण क्षेत्रको गरिबी न्यूनीकरण र आर्थिक सशक्तिकरणमा सहकारीले योगदान दिँदै आएको छ । समुदायका स–साना बचतहरुलाई स्थानीय तहमा नै जम्मा गरी आवश्यक परेका बखत सरल प्रक्रियाबाट ऋण दिने कार्यले न्यून आयस्तर भएका तथा बैंकिङ क्षेत्रको पहुँच बाहिरका व्यक्ति र समुदाय प्रत्यक्ष लाभान्वित भई जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ । सहकारीलाई धेरैले गरेको विश्वासलाई दुरुपयोग गर्दै कतिपय सहकारीका सञ्चालक तथा कर्मचारीले सहकारीको मूल्य मान्यताविपरित काम गरेर सर्वसाधारणलाई पीडा पनि दिएका छन् । पछिल्ला समय देशभर सहकारी पीडितको संख्या बढ्दै गएका छन् । ठूलो आर्थिक कारोबार गर्ने र देशव्यापी सञ्जाल बनाएका सहकारीका सञ्चालकले सहकारीको बचत अपचलन गरेर सहकारी सदस्य तथा बचतकर्तालाई बिचल्ली बनाइरहेका घटना एकपछि अर्को सार्वजनिक भइरहँदा सहकारी दिवसको औचित्य नै ओझेलमा पर्ने सम्भावना बढेको छ ।
सामान्य नागरिकको जीविकोपार्जन तथा देशको आर्थिक विकासको महत्वपूर्ण आधार बनेको सहकारीमा व्यथिति र विकृति बढ्न नदिन यसको प्रभावकारी नियमन हुनु आवश्यक छ । सहकारीलाई व्यवस्थित गर्न सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ । संघीय व्यवस्थाअनुसार सहकारी संस्था दर्ता, नवीकरण, नियमन आदि कार्य प्रदेश र स्थानीय तहमा आएका कारण पनि सहकारी नियमन फितलो बनिरहेको छ । बैंक तथा वित्तीय संस्था नियमन गर्ने केन्द्रीय बैंकजस्तै देशभरका सहकारी संस्था नियमनका लागि प्रभावकारी केन्द्रीय निकाय बनाउनुपर्ने अवस्था देखिएको छ । एकपछि अर्को सहकारीले शेयर सदस्य र बचतकर्ताको रकम दुरुपयोग गर्ने क्रमलाई रोक्न सहकारी दिवसमा सबै सहकारीकर्मीले सरकारसँग जोडदार माग गर्नु आवश्यक छ ।