शालिकराम जम्कट्टेल ।

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनी नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम राखेको प्रस्तावको पक्षमा ५६ मत प्राप्त गर्नुभएको हो ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कांग्रेस सरकारबाट बहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनु परेको हो । मुख्यमन्त्री जम्कट्टेललाई नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले विश्वासको मत दिएका थिए । नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गरेको थियो । विश्वासको मतका बेला राप्रपा तटस्थ बसेको छ ।

२०७९ पुस २५ मा मुख्यमन्त्री नियुक्त हुनुभएका जम्कट्टेलले सोमबार तेस्रो पटक विश्वासको मत लिनुभएको हो । पहिलो पटक मुख्यमन्त्री जम्मकट्टेलले २०७९ माघ ३ गते विश्वासको मत दिनुभएको थियो, जसमा उहाँलाई १०५ जना सांसदले विश्वासको मत दिएका थिए । त्यसको करिब २ महिनापछि सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएको थियो । एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक २०७९ चैत १० गते विश्वासको मत लिँदा ६७ जना सांसदहरुले विश्वासको मत दिएका थिए ।