हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघले यु–१३ का लागि टिम छनोट सुरु गरेको छ । सोमबारबाट हेटौंडा–१० स्थित वन विज्ञान क्याम्पसको चौरमा टिम छनोट सुरु गरेको हो ।

छनोट कार्यक्रमको पहिलो दिन मकवानपुरको विभिन्न पालिकाहरुबाट २ सय जनाभन्दा बढी किशोर खेलाडी सहभागी भएको जिल्ला फुटबल संघका उपाध्यक्ष तथा छनोट कार्यक्रमका संयोजक युवराज लामाले जानकारी दिनुभएको छ । १३ वर्ष उमेर समूहका किशोर खेलाडी उत्पादन गर्नका लागि एन्फाले विभिन्न जिल्लाहरुलाई छनोट कार्यक्रम गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा जिल्लाबाट फुटबल खेलप्रति रुचि भएका खेलाडीहरुको सहभागिता रहेको छ । छनोटमा सहभागी भएका खेलाडीहरुमध्ये प्रारम्भीक छनोटमा पर्ने २५ जना खेलाडीलाई प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी गराइने उहाँले बताउनुभयो । २५ जना खेलाडीहरुलाई प्रारम्भीक सूचीमा राख्ने लक्ष्य लिएको बताउनुहुँदै संयोजक लामाले भन्नुभयो– ‘हामीले भोलि २५ जना खेलाडी छनोट गर्ने लक्ष्य लिएका छौँ । २५ जनाभन्दा बढी खेलाडीहरु छनोटमा परेमा पर्सीसम्ममा २५ जनाको नाम सार्वजनिक गर्छौँ ।’

मकवानपुर जिल्लाका एन्फाका प्रशिक्षक विजयलाल श्रेष्ठले खेलाडीहरुको प्रदर्शनीको आधारमा छनोट गर्नुहुनेछ । छनोटमा पर्ने खेलाडीहरुलाई श्रेष्ठकै नेतृत्वमा प्रशिक्षण दिइने जनाइएको छ । जिल्लाबाट छनोट हुने किशोर खेलाडीहरुले चैत २४ गतेदेखि ३० गतेसम्म हुने प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुँदै अन्तिम चरणको छनोट प्रतियोगितामा सहभागी हुन पाउने छन् । प्रदेशस्तरीय छनोट प्रतियोगितामा प्रदेशको १३ वटा जिल्लाका किशोर खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । अन्तिम चरणमा छनोट हुने खेलाडीहरुलाई एन्फाले ३ वर्ष प्रशिक्षण दिनेछ ।

महिलाको छनोट कार्यक्रम बुधबार हुनेछ । प्रतियोगितामा सहभागी हुन खेलाडीहरुकोे जन्ममिति वि.स. २०६६ सालदेखि २०६८ सालसम्म हुनुपर्ने एन्फाले जनाएको छ । एन्फामा आवद्ध भएका जिल्लाहरुलाई छनोट कार्यक्रम गर्न निर्देशन दिइएको हो ।