देशभर सडक सञ्जाल र सवारी साधनको वृद्धिसँगै सवारी दुर्घटना पनि बढ्दै गएको छ । देशका सबै भूभागमा नयाँ सडक निर्माण र भएका सडक स्तरीकरण भइरहेको अवस्थामा सडक दुर्घटना वृद्धि हुनुले चिन्ता बढाएको छ । अन्य वैकल्पिक यातायातको उचित सुविधान नहुँदा हरेक मानिसले प्रयोग गर्नैपर्ने सडक यातायात असुरक्षित हुँदै गएको हो । शनिबार मुग्लिन नजिक त्रिशुली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ ज ४१९६ नम्बरको ट्याक्सी शनिबार बिहान इच्छाकामना–५, नाग्दी खोला पुल नजिकैबाट त्रिशुलीमा खस्दा एकै परिवारका पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनामा एक जना बेपत्ता छन् । शनिबारै पोखरामा बस ठाडो परेर दुर्घटना भएको छ । दुर्घटनामा मानवीय क्षति नभए पनि दुर्घटनाग्रस्त बसको तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्यो । शनिबारै राति करिब ९ बजे हेटौंडा–११ मा सुमोले पैदलयात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।
यस्ता दुर्घटनाको खबर सञ्चार माध्यमबाट दिनहुँ देख्न, सुन्न र पढ्न पाइन्छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो ५ वर्षमा सडक दुर्घटनामा परी १२ हजार ६ सय १२ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा मात्र ३५ हजार ७ सय ५४ वटा सडक दुर्घटनाका घटना भएका छन् । जसमा परी २ हजार ३ सय २० जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७८/७९ मा २ हजार ८ सय ८३ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा २ हजार ६ सय ५८, आव २०७६/७७ मा २ हजार ५ सय र २०७५/७६ मा २ हजार २ सय ५१ जनाको सडक दुर्घटनामा ज्यान गएको नेपाल प्रहरीको तथ्याङ्क छ । नेपालमा पछिल्लो एक वर्ष (१ माघ २०७९ देखि २९ पुस २०८०) अवधिमा ३९ हजार ५ सय ८ वटा सवारी दुर्घटना भएका छन् । एक वर्षमा मुलुकभर कुल २ हजार ८ सय ५७ दुर्घटनामा बसको संलग्नता रहेको नेपाल प्रहरीको तथ्याङ्क छ । संख्यात्मक सवारी दुर्घटनामा दुई पाङ्ग्रेको हिस्सा धेरै भए पनि धेरै मानवीय क्षति बस दुर्घटनाका कारण हुने गरेको छ ।
नेपालमा यातायात भन्नेबित्तिकै सडक यातायातलाई नै बुझ्ने गरिन्छ । संघीय, प्रदेश तथा स्थानीय सरकारले बजेटको ठूलो हिस्सा पनि सडक यातायातमै लगानी गर्दै आएको छ । गाउँगाउँसम्म पनि सडक यातायातको पहुँच बढ्दै जाँदा दुर्घटना पनि उत्तिकै बढ्दै गएको छ । सडकको कमजोर अवस्था, चालकको कमजोरी र लापरबाही, पुराना सवारी साधनलाई नेपालमा सकड सवारी दुर्घटनाको प्रमुख कारण मान्ने गरिएको छ । सडकको सुरक्षा जाँच र पर्याप्त ट्राफिक संकेत नहुनुले पनि सडक दुर्घटना बढाएको छ । यस्तै, सवारी साधनको अवस्था, यात्रुको ढिपी, सवारी साधनको नियमित मर्मत नहुनुलाई सवारी दुर्घटनाका थप कारण मान्न सकिन्छ । क्षमताबन्दा बढि यात्रु वा लोड बोक्नु, तिब्र गतिमा सवारी चलाउनु र सडकको अवस्था राम्रो नहुनु पनि सवारी दुर्घटनाका कारणहरु हुन् ।
सडक यातायात दुर्घटना न्यूनीकरणका लागि केही प्रयास गरिए पनि हरेक दिन सडक दुर्घटनाको खबर सन्नु परिरहेको छ । आकस्मिकरुपमा हुने सवारी दुर्घटना शून्यमा ल्याउन सकिँदैन । तर, पर्याप्त सावधानी र अन्य उपाय अपनाएमा दुर्घटना न्यूनीकरण गर्न अवश्य सकिन्छ । दुर्घटना न्यूनीकरणका लागि सरकारले पर्याप्त चासो नदिँदा दुर्घटनाको दर बढिरहेको छ । हरेक ठूला दुर्घटनापछि सरकारले छानविन समिति बनाउँदै सुझाव संकलन गरेर थन्क्याउने गरेको छ । यस्ता समितिले दुर्घटना न्यूनीकरण र सडक सुरक्षाका लागि दिएका सुझावलाई सरकारले लागू गर्न सकेको छैन । सवारी चालक, सवारी साधनमा यात्रा गर्ने र पैदल यात्रा गर्ने व्यक्तिहरु, सवारी चालक, यातायात मजदुर, समाज र राज्यका सरोकारवाला निकाय बढ्दो सवारी दुर्घटनाप्रति अझ संवेदनशील बन्नुपर्छ । विगतमा गठन गरेका आयोगले दिएका उपयुक्त सुझावहरु कार्यान्वयमा ल्याएर सवारी दुर्घटना न्यूनीकरणमा सरकारले पर्याप्त ध्यान दिनु आवश्यक छ ।