हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा २७ जना विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गर्ने भएका छन् । सहयोग र सरोकार ज्योति जीवन कार्यक्रमअन्तर्गत् विद्यार्थीहरुले छात्रवृत्ति पाउने भएका हुन् ।
बागमती गाउँपालिका–७ स्थित चौरा आधारभूत विद्यालयका पूर्वशिक्षक एवम् उक्त विद्यालयमा गएको मंगलबार भएको विद्यालय व्यवस्थापन समितिका निर्वाचनमा पराजित हुनुभएका विवेक सिङ्तानको पहलमा २७ जना विद्यार्थीले छात्रवृत्तिको पाउन लागेका हुन् । प्रत्येक विद्यार्थीले वार्षिक ५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्राप्त गर्ने सिङ्तानले बताउनुभयो । उहाँले छात्रवृत्ति यहि आर्थिक वर्षभित्रै उपलब्ध हुने बताउनुभयो । बागमती गाउँपालिका वडा नम्बर ४, ५ र ७ मा रहेका महाबुद्ध आधारभूत विद्यालय, देवकी माध्यमिक विद्यालय, आदर्श आधारभूत विद्यालय र चौरा आधारभूत विद्यालयका विद्यार्थीहरुले उक्त छात्रवृत्ति पाउने उहाँले बताउनुभयो ।
सिङ्तानले आफु विद्यालय व्यवस्थापन समितिको चुनावमा हारेपनि आर्थिकरूपमा कमजोर विद्यार्थीलाई हार्न दिनुहुन्न भन्ने उद्देश्यले छात्रवृत्तिका लागि पहल गरिएको उहाँले बताउनुभयो । आफूले पढाएको विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्यका साथ निर्वाचनमा होमिएर हारे पनि विद्यार्थीहरुको शैक्षिक अवस्थालाई थप उकास्नुपर्छ भनेर छात्रवृत्तिका लागि आफूले सक्रिय पहल गरेको उहाँको भनाइ छ ।