सपथ ग्रहण गर्नुहुँदै नवनियुक्त मन्त्री जगन्नाथ (जेएन) थपलिया (बायाँ) ।

हेटौँडाः बागमती प्रदेश सरकारमा नेकपा एमाले पनि सहभागी भएको छ । शनिबार एमाले नेता जगन्नाथ थपलियाले मन्त्री पदको सपथ लिनुभएको छ । चितवनबाट निर्वाचित थपलिया नेकपा एमाले संसदीय दलको नेता हुनुहुन्छ ।

थपलियालाई आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । थपलियाको प्रवेशसँगै बागमती प्रदेश सरकार ८ सदस्यीय बनेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार साँझ थपलियालाई सपथ गराउनुभएको छ । सपथग्रहण समारोहमा बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठक, मुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको पनि उपस्थिति रहेको थियो ।

संघीय सरकारमा काँग्रेससँगको गठबन्धन छाडेर प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले सम्मिलित नयाँ गठबन्धन बनाएपछि बागमती प्रदेश सरकारमा काँग्रेस बाहिरिएको छ भने एमालेसहित हाम्रो नेपाली पार्टी पनि प्रदेश सरकारमा सहभागी भएको छ । बिहिबार मात्रै हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त हुनुभएको थियो ।