सभामुख भुवनकुमार पाठक ।

सौराहा (चितवन)ः बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले प्रदेश सभामा मुख्मयन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने बैठकमा आफूलाई सहभागी नहुन प्रस्ताव आएको बताउनुभएको छ । शनिबार चितवनको सौराहामा भएको संचारकर्मीसँगको अन्तरक्रियामा बोल्नुहुँदै सभामुख पाठकले आफूलाई वर्तमान सरकारले विश्वासको मत लिने दिन बैठकमा सहभागी नहुन प्रस्ताव आएको बताउनुभएको हो ।

केही शक्तिबाट सरकारले विश्वासको मत लिने समयमा अप्ठेरोमा पार्नका लागि आफुलाई प्रस्ताव आएको सभामुख पाठकले उल्लेख गर्नुभएको छ । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै गत फागुन २३ गते बागमती प्रदेशमा नेपाली काङ्ग्रेसले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर शालिकराम जम्कट्टेल सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारले चैत्र १९ मा विश्वासको मत लिने कार्यक्रम तय भइसकेको अवस्थामा जुनै शक्तिको दवाव आए तापनि आफु आफ्नो कार्यबाट प्रभावित नहुने पाठकले बताउनुभएको छ । सभामुख स्वतन्त्र हुनुपर्ने बताउँदै आफू कसैको पक्षमा नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

सभामुख पाठकले प्रदेश सभालाई पादर्शी बनाउन थालनी गरेको बताउँदै प्रदेश सरकारले प्रदेश सभा सम्पूर्ण जिल्लाका डिजिटल बोर्डमा प्रत्यक्ष प्रशारण गर्न अध्ययन भइरहेको बताउनुभयो । सरकारलाई खबरदार गर्ने संसद र संसदलाई खबरदार गर्ने काम पत्रकारको हुने भएकाले पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सभामा संसदको आधारमा चल्न पर्नेमा सरकारको हित अनुसार चलेकोमा केही अप्ठ्यारा आउने बताउँदै सभामुखलाई संसदको जिम्मा दिनुपर्ने उहाँको भनाई छ । सरकारमा सभामुखले प्रतिपक्षको रक्षा गर्नुपर्ने उहाँको भनाई छ । कार्यव्यवस्था समितिको बैठक बसी चाँडै विषयगत समितिको टुङ्गो लगाउने पक्षमा रहेको बताउनुभयो ।