हेटौंडाः स्थानीय सरकार, स्वास्थ्यकर्मी, स्थानीय प्रशासन, प्रहरी, समुदायको साथ र सहकार्यमा कोरोना भाइरसविरुद्धको अभियान प्रभावकारी भएको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले बताउनुभएको छ । कोरोना भाइरस विरुद्ध हेटौंडा उपमहानगरसहित जिल्लाभर भएका प्रयासका बारेमा शनिबार हेटौंडा अस्पतालमा आयोजित प्रस्तुतीकरणमा उपमेयर लामाले सबैको साथ र सहयोगमा आगामी दिनमा पनि अझ सशक्त ढंगले कोरोना भाइरसविरुद्धको अभियान जारी राख्न सक्ने बताउनुु भएको छ ।
उपमेयर लामाले हेटौंडा अस्पतालका चिकित्सकको सहयोगमा कोरोना भाइरस विरुद्ध भएका कार्यको बारेमा प्रस्तुतीकरण गर्नुभएको हो । हालसम्म मकवानपुर जिल्लाका १४ जनामा कोरोना भाइरसको संक्रमण पाइएको जानकारी गराउनुहुँदै ती मध्ये ८ जना निको भइसकेको उहाँले जानकारी दिनुभएको छ । हेटौंडा उपमहानगरक्षेत्रमा भने अहिले कोही पनि संक्रमित नभएको उपमेयर लामाले जानकारी दिनुभएको छ । उपमहानगरपालिका क्षेत्रका क्वारेन्टाइनबाट हालसम्म २६६ जनाले सेवा लिइसकेको जानकारी गराउनुहुँदै हेटौंडा अस्पतालले हेटौंडा–४, कर्रास्थित आइसोलेसन कक्षबाट स्वाब संकलन गरेर ६७७ जनाको पीसीआर परीक्षण गरिएको जानकारी दिनुभयो । मकवानपुर जिल्लामा १३० बेडको क्वारेन्टाइन, ३० बेडको आइसोलेसन कक्ष, २२० क्षमताका अस्पताल र ३ वटा भेन्टिलेटर छ ।
मकवानपुर जिल्लाका सबै स्थानीय तहमा गरी अहिले ३४० जना क्वारेन्टाइनमा रहेको र २८० जना होम क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य उपचारमा खटिएका २२ जना स्वास्थ्यकर्मी पनि क्वारेन्टाइनमै रहेको उपमेयर लामाले जानकारी दिनुभयो । कोरोना संक्रमण परीक्षणका क्रममा एकजना व्यक्तिमा ६ पटकसम्म परीक्षण गर्नुपरेको उल्ले गर्नुहुँदै उहाँले हेटौंडा अस्पतालमा २४ सै घण्टा सञ्चालित फिभर क्लिनिकमा ३ हजार १ सय २३ जनाले सेवा लिएको जानकारी दिनुभएको छ ।