हेटौँडा : स्वास्थ्य संस्थामा उपचार सेवा लिने क्रममा स्वास्थ्यकर्मीबाटै विभेदको महसुस हुने गरेको एचआइभी संक्रमितहरुले गुनासो गरेका छन् । सोमबार जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा एचआइभी एड्स सम्बन्धी लान्छना तथा भेदभाव न्युनीकरणका लागि सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रमका सहभागी संक्रमितहरुले विभेदको गुनासो गरेका हुन् ।


उनीहरुले स्वास्थ्य संस्थामा उपचारका लागि जाँदा एचआइभी संक्रमित भन्ने थाहा पाउनुअघि र पछि गर्ने व्यवहारमा फरक पाउने गरेको बताएका छन् । यसअघि एचआइभी तथा एड्सलाई उपचारको अभावमा विशेष रोग मानेर संक्रमितहरुलाई अन्य व्यक्तिहरुले अवहेलना, छुवाछुत लगायत तिरस्कार गर्दै आएकोमा पछिल्लो समय सिधै नगरी घुमाउरो तरिकाले विभेद तथा लान्छना लगाउने गरिएको उनीहरुको भनाइ छ । यद्यपी गोपनीयताको कारण समाजमा विभेद कम भएपनि स्वास्थ्य संस्थामा रोगबारे जानकारी दिनुपर्ने भएकोले संक्रमित भनेर चिनेपछि स्वास्थ्यकर्मीहरुको बोली, व्यवहार लगायत फरक पाउने गरेको उनीहरुले बताएका छन् ।

कार्यक्रममा एड्स हेल्थकेयर फाउन्डेसन नेपालका परामर्शकर्ता अमृत लामिछानेले समग्र जिल्लाको एचआइभी संक्रमितहरुको अवस्था र लान्छनाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले कार्यपत्र मार्फत हाल नेपालमा एड्सको कारण हुने मृत्युको दर घट्दै गएको र संक्रमणको दर पनि घट्दै गएको देखिन्छ । तथ्याङक अनुसार सन् २००० मा ५ हजार ५ सय ४५ जना संक्रमण भएकोमा सन् २०१० मा २ हजार ५ सय ५७ जना भएको र सन् २०२४ मा ६ सय १४ जनामा मात्र संक्रमण भएको लामिछानेले बताउनुभयो ।


यस्तै सन् २००० मा वार्षिक ९० जनाको मृत्यु भएकोमा सन २०१० मा बढेर वार्षिक ४ सय ४० जनाको मृत्यु भएको र सन् २०२४ मा पुनः घटेर मृत्युदर १ सय ६९ जना भएको छ । आगामी दिनमा संक्रमणको दर र मृत्युदर अझै घट्दै सकारात्मक नतिजातर्फ जाने कार्यक्रमका सहभागीहरुले अपेक्षा गरेका छन् । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारी, जनस्वास्थ्य कार्यालय मकवानपुरका कर्मचारी तथा एचआइभी तथा एड्स संक्रमितहरु लगायत अन्य सरोकारवालाहरुको सहभागिता थियो ।