डेङ्गी नियन्त्रण उपकरण हस्तान्तरण गरिँदै ।

हेटौँडा : नेपालमा बढिरहेको डेङ्गी रोग संक्रमण नियन्त्रण गर्न रोटरी क्लब अफ हेटौँडाले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ लाई डेङ्गी नियन्त्रण उपकरण हस्तान्तरण गरेको छ । सोमबार वडा अध्यक्ष विष्णु दाहाललाई उपकरण हस्तान्तरण गरिएको रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष प्रमेश प्रधानले जानकारी दिनुभयो ।

वडा नम्बर ५ मा यसअघि नै वितरण गरिसकेको र वडा नम्बर ६ सहित अन्य वडाहरुलाई वितरण गर्न लागिएको डेङ्गी नियन्त्रण उपकरणले संक्रमित क्षेत्रहरूमा रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउने अध्यक्ष प्रधानले बताउनुभयो । लामखुट्टे नियन्त्रणका लागि आवश्यक उपकरणहरू फगर मेसिन, सुरक्षात्मक पोशाक, स्प्रेइङ सेटहरु हस्तान्तरण गरिएको हो । उपकरण हस्तान्तरणसहित त्यसको सही प्रयोगबारे प्राविधिक अभिमुखीकरणसमेत गरिएको अध्यक्ष प्रधानले बताउनुभयो ।

डेङ्गी नियन्त्रणमा उपकरणमात्र होइन, समुदायको सक्रिय भूमिका सबैभन्दा महत्वपूर्ण रहेको भन्दै घरघरमा सफाइ, पानी जम्न नदिने, टायर–ड्रम–भाँडाकुँडामा पानी संकलन हटाउने तथा लामखुट्टे प्रजननस्थल नष्ट गर्ने कार्य निरन्तर गर्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो । सामाग्री हस्तान्तरण कार्यक्रममा रोटरी क्बल अफ हेटौँडाका सचिव रामबहादुर थापा तथा पदाधिकारीहरु सहित रोटरी क्बल अफ मकवानपुरका पूर्वअध्यक्ष कविन सङ्गामीको उपस्थिति रहेको थियो । वडा अध्यक्ष दाहालले स्वास्थ्यका लागि स्थानीय तहले चाल्ने कदमलाई अझ प्रभावकारी बनाउन सहयोगी संस्थाहरूको समन्वय आवश्यक रहेको बताउनुभयो ।