हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा करिब २४ करोडको लागतमा पक्की पुल निर्माण हुने भएको छ । मनहरी–५, रजैया र ९ दरदरा जोड्ने राप्ती खोलामा मोटरेबल पक्की पुल निर्माण हुनेभएको मनहरी–५ का वडा अध्यक्ष दिपेश अधिकारीले जानकारी दिनुभयो ।
सोमबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुलको शिलान्यास गर्नुभएको हो । बागमती प्रदेशको पूर्वाधार विकास कार्यालयको २४ करोडको लगानीमा २ सय ५६ मिटर लामो पक्की पुल निर्माण हुन लागेको हो । पुल निर्माणको ठेक्का बिटीआरएस जेभी काठमाडौंले पाएको छ । कम्पनीले २०८३ साल बैशाख ४ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।
पुल निर्माणपश्चात् वडा नम्बर ५ का एक हजार जना र ९ का ३ सय जान स्थानीयले सुविधा पाउनेछन् । यसअघि उक्त स्थानमा झोलुङ्गे पुल रहेको थियो । हिउँदमा राप्ती खोलामा ह्युमपाइप राखेर सवारी साधन आवतजावत गर्ने गर्दथ्यो भने बर्षायाममा झोलुङ्गे पुलबाट मानिसमात्र ओहोरदोहोर हुने गरेको थियो ।
पुल शिलान्यास कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, पूर्व स्वास्थमन्त्री बिरोध खतिवडा, प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, संविधानसभा सदस्य राजाराम स्याङ्तान, पूर्वाधार विकास कार्यालयका प्रमुख वीरेन्द्र चौधरी, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष सीता पुलामीलगायत जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।