हेटौडाः हेटौंडा–११ नवलपुर र हेटौंडा–३, बसामाडी जोड्ने गरी बनाइएको मितेरी पुलको शुक्रबार उद्घाटन भएको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुलको उद्घाटन गर्नुभएको हो । २०७६ पुसबाट काम सुरु भएको ६ मिटर लम्बाई र ४ मिटर चौडाइ रहेको पक्की पुल १३ लाख रुपैयाँमा निर्माण भएको हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा सदस्य रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
वडा नम्बर ११ र वडा नम्बर ३ ले पुल निर्माणको लागि ५/५ लाख उपलब्ध गराएको थियो भने स्थानीय स्तरबाट ३ लाख जम्मा भई उपभोक्ता समितिमार्फत काम भएको उहाँले बताउनुभयो । उपभोक्ता समितिले ६ महिनाभित्र पुलको निर्माण कार्य सम्पन्न गरेको उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर गोलेले बताउनुभयोे । उहाँका अनुसार उक्त पुलबाट १५० घरधुरी लाभान्वित हुनेछन् ।
पुल नहुँदा वर्षायाममा खहरे आएर दुबै वडाका नागरिकहरुलाई आवतजावत गर्न समस्या हुने गरेको थियो । पुल बनेसँगै समस्याको समाधान भएको वडा नम्बर ११ का वडा सदस्य रामचन्द्र न्यौपानेले बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर गोलेको सभाध्यक्षमा भएको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रामकुमार पुडासैनी, हेटौंडा–११ का वडा सदस्य रामचन्द्र न्यौपाने, जुना दाहाल, मनकामना सरस्वती टोल विकास संस्थाका अध्यक्ष रोशन गोलेको उपस्थिति रहेको थियो ।