हेटौँडाः हेटौँडाबाट प्रकाशन हुँदै आएको समृद्ध समाज दैनिकमा आवद्ध पत्रकार विनोद चौलागाई इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्ममेकर्स (आईएनएनएफ) को केन्द्रीय समितिमा चयन हुनुभएको छ । बिहिबार काठमाडौंमा आयोजित प्रथम साधारणसभाबाट लव प्याकुरेलको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन भएको छ ।
आइएनएनएफको उपाध्यक्षमा मानबहादुर थापा, प्रदीप लाल श्रेष्ठ र लक्ष्मण सुवेदी निर्वाचित भएका छन् । महासचिवमा रमेश कोइराला, सचिवमा भीष्मराज फुलारा र कोषाध्यक्षमा ठण्डबहादुर अधिकारीले जिम्मेवारी पाएका छन् । त्यसैगरी सदस्यमा समृद्ध समाजका चौलागाईसहित राधेश्याम विश्वकर्मा, गणेश सुवेदी र मधु अधिकारी निर्वाचित भएका छन् ।
आइएनएनएफको साधारणसभाको अवसरमा पाँच दशकभन्दा लामो समयदेखिको उल्लेखनीय योगदानका लागि नेपाली चलचित्र उद्योगका पाँच व्यक्तित्वलाई सम्मान प्रदान गरेको छ । नीर शाह, उद्धव पौडेल, भुवन चन्द, मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्कालाई “चलचित्र स्वर्णिम सम्मान २०८०” बाट सम्मान गरिएको छ । कार्यक्रममा रमेश बुढाथोकी, राजकुमार राई, रवीन्द्र खड्का, गौरी मल्ल र करिश्मा मानन्धरलाई “चलचित्र विशेष व्यक्तित्व सम्मान २०८०” प्रदान गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मानित व्यक्तिहरूलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा ‘सिमानाभन्दा परः नेपाली चलचित्र’ विषयक अन्तरक्रिया पनि गरिएको थियो । चलचित्रकर्मी, उद्योग विज्ञ र सरोकारवालाहरूबीच नेपाली चलचित्र नेटवर्किङ, ज्ञान आदानप्रदान र सहकार्यका लागि कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो । अन्तरक्रियामा सहभागीहरूले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न सरकार र चलचित्रकर्मीबीच ठोस योजना र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । प्रमुख वक्ता अभिनेता नीर शाहले नेपाली चलचित्र उद्योगलाई थप विकासका लागि आफ्नो कमजोरी पत्ता लगाएर आत्मपरीक्षण गर्न आग्रह गर्नुभयो ।











