हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ स्थित हाँडीखोलामा चिस्यान केन्द्रको शिलान्यास भएको छ । आइतबार एक कार्यक्रमका बीच पालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी र ३ नम्बर वडाध्यक्ष अनन्त अर्यालले संयुक्त रुपमा चिस्यान केन्द्रको शिलान्यास गर्नुभएको हो ।
मनहरी–३ का वडाध्यक्ष अर्यालका अनुसार पालिकाको ६ करोड २८ लाख ४५ हजार रुपैयाँमा चिस्यान केन्द्रको शिलान्यास भएको हो । ४ सय मेट्रिन टन क्षमताको चिस्यान केन्द्रको निर्माणको जिम्मा नमोबुद्ध हिमालयन जेबी निर्माण सेवा प्रालिले पाएको छ । निर्माण कम्पनीसँग दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको वडाध्यक्ष अर्यालले बताउनुभयो । चिस्यान केन्द्र निर्माणका लागि वडा निवासी गणेश कुमारी उप्रेतीले पति स्वर्गीय मायानाथ उप्रेतीको सम्झनामा १० धुर जग्गा उपलब्ध गराएको उहाँले बताउनुभयो । चिस्यान केन्द्र निर्माण सम्पन्न भएपछि पालिकाभरीका किसानहरु लाभान्वित हुने उहाँको भनाई छ । किसानहरुले उत्पादन गरेको तरकारीको बजारमा मुल्य नहुँदा स्टक गरी राख्ने र बजार मुल्य पाएपछि फेरी विक्री गर्न सकिने उहाँले बताउनुभयो । हात्तीखोलामा उत्पादन हुने तरकारीहरु चितवन, बुटबल, वीरगञ्ज र काठमाडौं लगायतको सहरहरुमा विक्री हुँदै आइरहेको पनि वडाध्यक्ष अर्यालले बताउनुभयो ।










