हेटौंडा उपमहानगरपालिका ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक भोलि बुधबार बिहान ८ बजे बस्ने भएको छ । उपमहानगरपालिकाको कार्यतालिकाअनुसार बैठक बस्न लागेको हो । उपमहानगरपालिकाले हरेक महिनाको २ र १६ गते नियमित कार्यपालिका बैठक बस्ने कार्यतालिका बनाएको छ ।

गत माघ १६ गतेदेखि मात्रै उपमहानगरपालिकाको कार्यपालिका बैठक कार्यतालिकाअनुसार बस्न सुरु गरेको छ । गत माघ २६ गतेको बैठक भने उपमहानगरपालिकाले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गर्न सुरु गरेको छ । माघ २६ गतेको बैठकको प्र्रत्यक्ष प्रसारण गरे पनि उपमहानगरले बैठकका निर्णय भने सार्वजनिक गरिएको छैन ।

यसअघि पुस ६ गते, पुस २० गते र माघ १६ गते बसेको कार्यपालिका बैठकको निर्णय सार्वजनिक गरेको उपमहानगरपालिकाले पछिल्लो बैठकको निर्णय सार्वजनिक गरेको छैन । पछिल्लो पटक माघ १६ गते बसेको कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्दा उपमहानगरपालिकाले गम्भीर त्रुटी गरेको थियो । कार्यपालिका बैठकले गरेका निर्णय केही सार्वजनिक भएका थिए भने केही सार्वजनिक गरिएको थिएन ।

स्थानीय सरकारको बैठकका निर्णय औपचारिक रुपमा केही सार्वजनिक हुनु र केही सार्वजनिक नहुनुले कानुनी जटिलता निम्तने जोखिम देखिएपछि माघ १६ गते गरिएका केही निर्णयलाई माघ २६ गते बैठकमा पनि दोहोर्याएर निर्णय गरिएको थियो ।