हेटौँडाः नेकपा एमाले सम्वद्ध विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर जिल्लाको २८औं अधिवेशनबाट अमृत बर्तौला अध्यक्ष चयन हुनुभएको छ । शनिबार बिहान सम्पन्न अधिवेशनबाट बर्तौलाको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो । अधिवेशनमा एक समूहले निर्वाचनको माग गर्दै नारावाजी समेत गरेका थिए ।
अधिवेशनबाट उपाध्यक्षमा पुष्कर तिमल्सिना, नवराक शर्मा पौडेल र शिव पुलामी, सचिवमा रामचन्द्र ब्लोन, सह–सचिवमा जस्प्रिता अधिकारी, प्रसिद्ध रेग्मी र साहिल खान, कोषाध्यक्षमा इशा पाख्रिन र कार्यालय सचिवमा रोजन घिमिरे चयन हुनुभएको छ । नयाँ नेतृत्व चयन लगत्तै सपथ गराइएको थियो । अनेरास्ववियु केन्द्रीय कमिटीका सचिव सुजन कडरीयाको प्रमुख आतिथ्यमा शुक्रबार दिउँसो अधिवेशनको उद्घाटन समारोह भएको थियो ।
नेतृत्व चयनको विषयमा विवाद हुँदा एक समूहले नारावाजी गर्दै निर्वाचनको माग गरेका थिए । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, नेकपा एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठको उपस्थितिमा अनेरास्ववियु मकवानपुरको नयाँ नेतृत्व चयन भएको हो ।