हेटौँडाः हेटौँडा–९, पशुपतिनगरस्थित हेटौँडा मोर्डन इंग्लिस आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले जनप्रतिनिधिसँग बहस गरेका छन् । शुक्रबार विद्यालयमा बाल क्लबका अध्यक्ष रिजन अधिकारीको सभाध्यक्षमा तथा वडाअध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यमा बहस भएको हो ।
बहसमा कक्षा १० की एक छात्राले अहिलेको समयमा समाजमा बढी मात्रामा जाँड–रक्सी विक्री वितरण हुने गरेको भन्दै गुनासो गर्नुभयो । बहसमा वडाअध्यक्ष सुकराम केसीले आफ्नो भविष्य सवल बनाउनका लागि आफु तयार हुनुपर्ने बताउनुभयो । पढ्ने उमेरमा हरेक विद्यार्थीहरुले मोबाइल जस्ता विद्युतीय उपकरणको प्रयोग सीमित मात्रामा गर्नुपर्ने वडाध्यक्ष केसीको भनाई थियो । वडा कार्यालयले जागिर भन्दा पनि सीप दिने गरेको बताउनुभयो । उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मान गर्ने उद्देश्यले प्रत्येक महिना निशुल्क स्वास्थ्य शिविर, निशुल्क बीमा, धार्मिक वितरण गर्ने गरेको बताउनुभयो ।
कक्षा १० की छात्र ओशिका गुरुङले वडा–९ लाई सुन्दर वडा बनाउने योजनाबारे गरेको प्रश्नका उत्तर दिनुहुँदै वडाध्यक्ष केसीले भन्नुभयो, “वडाको विभिन्न ठाउँहरुमा १ वर्षमा ठुलो संरचना निर्माण गर्ने, प्रत्येक ठाउँहरुमा लाइनहरु निर्माण गर्ने, गमलाहरु निर्माण गर्ने र सिसी क्यामरा जडान गर्ने योजना छौँ ।”
निजी विद्यालय अविभावक संघकी अध्यक्ष रमिला सापकोटाले सबै सञ्चारकर्मीहरुले सही ढंगबाट कलम चलाउन सकेमा देशमा सकारात्मक परिवर्तन आउन सक्ने बताउनुभयो । हरेक ठाउँहरुबाट विभेद गरेपनि आफ्नो लक्ष्यबाट पछाडी पर्न नहुने अध्यक्ष सापकोटाले बताउनुभयो । अहिलेको समयमा धनी विद्यार्थीहरुमात्र नभई सबै विद्यार्थीहरु संस्थागत विद्यालयमा पढ्ने गरेको बताउनुहुँदै उहाँले भन्नुभयो, “निजी क्षेत्रको विद्यालयहरुलाई पनि अगाडि लाग्नुपर्छ भन्ने कार्यमा सबै अग्रसर भएका छन् ।”
समाजलाई लागुपदार्थ दुव्र्यसनी जस्ता कार्यहरुबाट मुक्त बनाउन पहिले आफ्नो व्यक्तिगत जिवनमा सुधार ल्याउनुपर्ने उहाँले बताउनुभयो । वडा सहजकर्ता आशिष खतिवडाले २५ जना बालबालिकाहरुको निशुल्क स्वास्थ्य बीमाको घोषणा गरेको बताउनुहुँदै निजी क्षेत्रको विद्यालयलाई पनि अगाडि बढाउनुपर्ने बताउनुभयो । प्रहरी निरीक्षक दिनेश कुँवरले अहिलेको समयमा सबैभन्दा बढी साइबर अपराध हुने गरेको बताउनुभयो । पहिला साइबल अपराध न्यूनिकरण गर्न काठमाडौँमा जानुपर्ने बताउनुहुँदै अहिले साइब् अपराधसम्बन्धी मकवानपुरको जिल्ला प्रहरी कार्यालमै उजुरी दिन सकिने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुदीप बर्तौलाको पनि उपस्थिति रहेको थियो । विद्यालयले अतिथिलाई मायाको चिनोको रुपमा पुस्तक उपहार दिएको थियो ।