Home मुख्य समाचार बागमती प्रदेशमा बजेटबारे छलफल, छलफलका सुझाव सकारात्मकः अर्थमन्त्री ढुंगेल

बागमती प्रदेशमा बजेटबारे छलफल, छलफलका सुझाव सकारात्मकः अर्थमन्त्री ढुंगेल

प्रदेश सभामा बजेटमा उठेका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री कैलाशप्रसाद ढुंगेल ।

हेटौंडाः बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको वजेटको छलफलमा प्रदेश सभा सदस्यहरुबाट आएका सुझावहरुलाई सकारात्मक रुपमा लिएको बताउनुभएको छ ।

उहाँले सांसदहरुले दिएको महत्वपुर्ण सुझावहरु सहर्ष स्वीकार गरेको बताउनुभएको छ । मुलुकको केन्द्रीय राजधानी भएको व्यापारिक र व्यावसायिक थलो भएको देशका मुख्य सहरहरु पनि भएको प्रदेशको बजेट अरुको भन्दा ठुलो आउनु स्वभाविक भएकोले आपत्ति जनाउनु नपर्ने अर्थमन्त्री ढुंगेलले दावी गर्नुभयो ।

आज प्रदेश सभामा २०७७/०७८ को बजेटमाथि भएको छलफलमा बोल्दै सांसद पुकार महर्जनले बजेटले गरिवी र स्वरोजगारलाई नसमेटेको भन्दै वर्तमान स्वास्थ्य संकटलाई समाधान गर्न बजेटमा उल्लेख नभएको र अबको स्थितिलाई ध्यान नदिएको बताउनुभयो । उहाँले प्रदेशले अर्थ तथा विविध भनेर ९ अर्ब बजेट लुकाएर ल्याएकोले बजेटमा भ्रष्टाचार झल्किएको बताउनुभयो ।

सांसद राजेन्द्र गुरुङले प्रतिपक्षीको टिप्पणी आलोचना गर्न मात्र नभएर सरकारको कमिकमजोरी सुधार्न आएको बताउनुभयो । उहाँले बजेट ठुलो भएकोमा सरकारलाई घाँटी हेरेर हाड निल्नुपर्ने भन्दै जनतालाई तालिम मात्र दिएर नहुने रोजगार र व्यवसाय चलाउने व्यवस्था मिलाउनु पर्ने सुझाव दिनुभयो ।

बजेट माथिको छलफलमा बोल्दै कल्पना नेपालीले प्रदेश सरकारले प्रस्तुत गरेको बजेट दलित र सिमान्तकृतहरुलाई कागलाई वेल पाक्यो हर्ष न विस्मात भनेझै भएको बताउनुभयो । सांसद राधा घलेले बजेट आधार हिन र अशोभाविक भएको भन्दै नारामा सीमित भएको तर्क गर्नुभयो । सांसद रचना अमात्य जोछेँले बजेट १३ वटै जिल्लामा समान रुपले नभएर मन्त्रीमुखी विनियोजन भएको आरोप लगाउनुभयो ।

सांसद विशाल खड्काले बजेटमा सञ्चार जगतलाई कतै पनि नसमेटिएकोले प्रदेश भित्रका सञ्चार जगतले प्रदेश सरकार नभएको महसुस गरेको बताउनुभयो । सांसद सरेश नेपालले बजेट माथि छलफल हुनुपर्ने तर अर्थहिन हचुवाको आलोचना नगर्न प्रदेश सभा सदस्यहरुलाई ध्यानाकर्षण गराउनुभयो ।

Exit mobile version