हेटौँडाः सामान्यतः विद्यालयमा अभिभावक दिवसको आयोजना गर्दै गर्दा अभिभावकले आफ्ना बाबुनानीको कला हेर्ने अवसरको रुपमा लिइन्छ । तर, हेटौँडा–१८, हर्नामाडीस्थित मकवानपुर बालविद्या सदनले भने अभिभावकलाई नै नृत्यकला प्रस्तुत गर्न प्रेरित गरेको छ । शुक्रबार भएको अभिभावक दिवसमा मकवानपुर बालविद्या सदनमा अध्ययनरत पूर्वप्राथमिक तहका विद्यार्थीका अभिभावकले आफ्ना बाबुनानीसँगै नृत्यकला प्रस्तुत गरेका छन् ।
विद्यालयले अभिभावकका सुझाव पनि संकलन गरेको छ । अभिभावक दिवस कार्यक्रमस्थलको प्रवेश गर्ने स्थानमै अभिभावकका लागि सुझाव पेटिका राखिएको थियो । अभिभावक दिवसको अवसरमा विद्यार्थीले नृत्य, गायन, नाट्यकला प्रस्तुत गरेका थिए भने विद्यार्थीले खानाका स्टल, फेसपेन्टको कार्य पनि गरेका थिए ।
विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न, अभिभावकमा पनि पठन संस्कृतिको आवश्यकता औँल्याउने उद्देश्यले लेखक तथा शिक्षक सिएम रिमालसँग पुस्तक चर्चाको कार्यक्रम समेत गरिएको थियो । विद्यालयका प्रिन्सीपल सुदीप राज गिरीले सहजीकरण गर्नुहुँदै पठन संस्कृति र रिमालको हालै प्रकाशित पुस्तक “कथा भन्छु नि ल” को सन्दर्भमा चर्चा गरिएको थियो ।
विद्यार्थीलाई पढ्न प्रेरित गर्दै आएको विद्यालयले सबैभन्दा धेरै ४५ वटा पुस्तक पढ्ने कक्षा ३ को अनमोल पौडेल उत्कृष्ट पाठकको रुपमा सम्मान गर्दै किताब राख्ने ¥याक हस्तान्तरण गरिएको थियो । यस्तै दोस्रो स्थानमा रहने ४ कक्षाकी सुभान्सी न्यौपानेलाई किताबघरले किताब दिएको छ । अभिभावक दिवसमा विद्यालयमा पुस्तक मेलाको पनि आयोजना गरिएको थियो । अभिभावक दिवसमा अतिथि र विद्यार्थीलाई खिर खुवाइएको थियो । असार १५ मा विद्यालयकै खेतमा विद्यार्थीले रोपाइँ गरेर मंसिरमा काटेको धान कुटाएर तयार पारिएको चामलको खिर बनाएर खुवाइएको प्रिन्सीपल गिरीले जानकारी दिनुभयो । विद्यालयले उत्कृष्ट क्याप्टेनको रुपमा ४ कक्षाका समीर लामिछानेलाई सम्मान समेत गरेको छ । १० कक्षासम्म पठनपाठन हुने मकवानपुर बालविद्या सदनमा ६ सय विद्यार्थी अध्ययनरत छन् ।