हेटौंडाः हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति मकवानपुरको व्यवस्थापनमा भएको प्रथम वडास्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आधुनिक राष्ट्रिय मावि उत्कृष्ट भएको छ । श्रमिक मावि र भूटनदेवी मावि क्रमशः दोस्रो र तेस्रो भएका छन् ।

प्रतियोगितामा ७ वटा खेलमा प्रथम, ३ वटामा द्वितीय र ३ वटामा तृतीय हुँदै ३० अंकसहित आधुनिक वडाको सर्वोत्कृष्ट विद्यालय बनेको छ । हेटौंडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयले ५ वटा खेलमा प्रथम, ६ वटामा द्वितीय र एउटामा तृतीय हुँदै २८ अंकसहति दोस्रो भएको छ । भूटनदेवी माविले २ वटा खेलमा प्रथम, ३ वटामा द्वितीय र ३ वटामा तृतीय हुँदै तेस्रो भएको हो ।

शुक्रबार सुरु भएको प्रतियोगितामा ४ नम्बर वडाभित्रका सामुदायिक र संस्थागत गरी ७ वटा विद्यालयको सहभागिता थियो । क्रिकेट प्रतियोगितामा आधुनिक राष्ट्रिय मावि प्रथम, भुटनदेवी मावि द्वितीय र नवोदय शिशु सदन तृतीय भएको छ । फुटबलमा आधुनिक राष्ट्रिय मावि प्रथम, श्रमिक मावि द्वितीय र आमसाई स्कूल तृतीय भएको छ । यस्तै, भलिबल प्रतियोगितामा आधुनिक राष्ट्रिय मावि प्रथम, श्रमिक मावि द्वितीय र नवोदय शिशु सदन तृतीय भएको छ । क्रिकेट, फुटबल र भलिबलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई ट्रफी तथा खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

एथ्लेटिक्समा १०० मिटर दौडको छात्रतर्फ आधुनिकका कृष रौनियार प्रथम र भूटनदेवीका मोहम्मद रसिद र मोहम्मद साजिद द्वितीय र तृतीय भएका छन् । छात्राको १०० मिटर दौडमा श्रमिक माविकी मनिका गौतम र अस्मिता गौतम क्रमशः प्रथम र द्वितीय भएका छन् भने नवोदयकी रुविकन प्रधान तृतीय भएकी छिन् । छात्रको २०० मिटर दौडमा आधुनिकका एमडी रसिद र कृष रौनियार क्रमशः प्रथम र द्वितीय हुँदा भूटनदेवीका आशीष यादव तृतीय भएका छन् । २०० मिटर दौडको छात्रातर्फ श्रमिककी अस्मिता गौतम, नवोदयकी न्यान्सी हिमडुङ र आधुनिककी दीपिका चौधरी क्रमशः प्रथम, द्वितीय र तृतीय भएकी छिन् ।

लङजम्पको छात्रतर्फ भूटनदेवीका मोहम्मद साजिद प्रथम, आधुनिकका शिशिर सुवेदी द्वितीय र ब्रह्मदिक् एकेडेमीका विपिन लामिछाने तृतीय भए । लङजम्पको छात्रातर्फ श्रमिककी सहिमा खातुन र मनिका गौतम क्रमशः प्रथम र द्वितीय हुँदा ब्रह्मदिक्की रमुना थापा तृतीय भएकी छिन् । छात्रतर्फको त्रिपलजम्पमा भूटनदेवीका बब्लु यादव प्रथम हुँदा श्रमिक माविका सुमन घलान र अमन माझी क्रमशः द्वितीय र तृतीय भएका छन् । त्रिपलजम्पको छात्रातर्फ श्रमिककी अस्मिता गौतम प्रथम, श्रमिककी सहिमा खातुन र आधुनिककी दीपिका चौधरी द्वितीय तथा भुटनदेवीकी निरुता चौधरी तृतीय भएकी छिन् ।

सटपुट थ्रोको छात्रतर्फ आधुनिकका निमा लामा र विराज भ्लोन क्रमशः प्रथम र तृतीय हुँदा भूटनदेवीका अमनप्रसाद कुशवाह द्वितीय भएका छन् । सटपुटकै छात्रातर्फ आधुनिककी निग्मा लामा र दीपिका चौधरी क्रमशः प्रथम र द्वितीय भइन् भने नवोदयकी न्यान्सी हिमडुङ तृतीय भएकी छिन् । छात्रछात्रा सम्मिलित ४०० मिटर रिले दौडमा श्रमिक मावि प्रथम, नवोदय शिशु सदन द्वितीय र ब्रह्मदिक् एकेडेमी तृतीय भएका छन् ।

प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका पूर्वप्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यमा भएको थियो । शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दहालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले वडाभित्रका विद्यालयका विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराउने, विद्यार्थीहरुमा भएको प्रतिभालाई प्रस्तुत गराउने र विद्यार्थीहरुको शारीरिक तन्दुरुस्ती बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जानकारी दिनुभयो । विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्ने, विद्यालयका विद्यार्थीहरुबीच भातृत्व कायम गराउने, खेलप्रतिको रुचि बढाउन प्रतियोगिता सहयोगी हुने उहाँको भनाइ छ ।

पुरस्कार वितरण कार्यक्रममा ४ नम्बर वडाका वडा सदस्य गीता त्रिपाठी, आधुनिक मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समीम खान, श्रमिक मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजीरत्न बज्राचार्यसहित वडाभित्रका विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावकको उपस्थिति थियो ।