काठमाडौंको न्युरोड टिम (एनआरटी) का खेलाडीहरु ।

हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी छैठौँ संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुनेछ । प्रतियोगिताको उपाधिका लागि काठमाडौंको न्युरोड टिम (एनआरटी) र सशस्त्र प्रहरी बल (एपीएफ)बीच प्रतिस्पर्धा हुने भएको हो ।

बुधबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा धनकुटाको राजारानी क्लबलाई टाइबे्रकरमा १७–१६ गोलले हराउँदै एनआरटी फाइनलमा प्रवेश गरेको थियो । यस्तै, बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सर्लाहीको बागमती क्लबलाई ४–० गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको थियो ।

शुक्रबार जिल्ला फुटबल संघले पत्रकार सम्मेलनको आयोजना गर्दै फाइनलमा प्रवेश गर्ने दुबै टिमबारे जानकारी गराएको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै एनआरटीका टिम कोच जीवन सिंहले निकै प्रतिस्पर्धात्मक अवस्थामा पनि जित निकालेको खेलाडीहरुले राम्रो प्रदर्शनी गर्ने अपेक्षा गर्नुभएको छ । पहिलो खेलबाटै खेलाडीहरुले राम्रो प्रतिक्रिया दिँदै आइरहेकाले फाइनमा पनि खेलाडीहरु परिवर्तन नगर्ने टिमकोच सिंहले बताउनुभयो । सेमिफाइन खेलमा भएको रोमाञ्चक प्रतिस्पर्धाबाट नयाँ अनुभव बटुलेको सिंहले बताउनुभयो । एपीएफको टिमले निकै कठिन अवस्थामा पनि उत्कृष्ट प्रदर्शनी गर्दै फाइनल यात्रा पूरा गरेकाले प्रतिस्पर्धात्मक ढंगबाट प्रतियोगिता सञ्चालन हुने सिंहको अपेक्षा छ ।

यस्तै, एपीएफका टिमकोच सुमन श्रेष्ठले छोटो समयमा प्रतियोगितामा सहभागी भएर फाइनमा प्रवेश गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभएको छ । प्रतियोगितामा सहभागी हुनुअघि खेलाडीहरुलाई राम्ररी प्रशिक्षण दिन नपाएको उहाँले बताउनुभएको छ । सेमिफाइनल चरणको खेलमा १९ औँ पेनाल्टी प्रहार गर्दै फाइनलसम्म आइपुगेको एनआरटीको टिमले पनि उत्कृष्ट प्रदर्शनी गर्ने उहाँले अपेक्षा गर्नुभएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले १५ लाख रुपैयाँ र उपविजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ३ सय ५० सीसीको बुलेट बाइक प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।