हेटौंडाः हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा प्रथम वडास्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । शुक्रबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन पूर्वनगरप्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्य तथा शैक्षिक गुणस्तर समितिका अध्यक्ष श्रीराम दहालको सभाध्यक्षतामा भएको हो ।

प्रतियोगिताअन्तर्गत् शुक्रबार एथ्लेटिक्सतर्फ छात्र तथा छात्राको सटपुट, सय मिटर दौड, २ सय मिटर दौड र ४ सय मिटर रिले दौड सम्पन्न भएको छ । आज शनिबार भलिबल, क्रिकेट, फुटबल, लङ्जम्प र ट्रिपलजम्पका खेल सम्पन्न हुने आयोजकले जनाएको छ ।

वडाभित्रका विद्यालयका विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराउने, विद्यार्थीहरुमा भएको प्रतिभालाई प्रस्तुत गराउने र विद्यार्थीहरुको शारीरिक तन्दुरुस्ती बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले बताउनुभयो । हेटौंडा–४, हुप्रचौरमा भइरहेका प्रतियोगितामा वडाभित्र ७ वटा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा आधुनिक राष्ट्रिय मावि, भुटनदेवी मावि, श्रमिक मावि, नवोदय शिशु सदन, ब्रह्मदिक एकेडेमी, सत्यम् जेभियर्स मावि र आमसाई स्कूलको सहभागिता रहेको छ ।

प्रतियोगिता आयोजनाका लागि करिब २ लाख रुपैयाँ बजेट छुट्याइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिम तथा खेलाडीले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उपाधि विजेता टिमलाई यस वर्षको सर्वोत्कृष्ट विद्यालय घोषणा गरी शिल्ड प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामा, ११ नम्बर वडा अध्यक्ष जुना दहाल, १४ नम्बर वडा अध्यक्ष दीपक खड्का, १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तान, ७ नम्बर वडाका पूूर्वअध्यक्ष राजन थापा, श्रमिक माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विवेक कार्की, भुटनदेवी माविका प्रधानाध्यापक माधव दाहाल र आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईंलगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको उद्घाटनअघि प्रतियोगितामा सहभागी खेलाडी, स्काउट, सहभागी विद्यालयका विद्यार्थीलगायतको र्यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो ।