हेटौंडाः चौथो संस्करणको बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिकाबाट २० जना खेलाडी छनोट भएका छन् । यही माघ २५ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुन लागेको मेयर कप तेक्वान्दो प्रतियोगिताका लागि महिला १० जना र पुरुष १० जना गरी जम्मा २० जना खेलाडीहरु छनोट भएका हुन् ।
छनोट हुनेमा महिलातर्फ निर्जला माझी, शितल बर्तौला, माधुरी घलान, सुहासना राना मगर, सुस्मा घलान, सुजना कुँवर, रोशनी मोक्तान र अनिशा बिक रहेका छन् । पुरुषतर्फ संयोग माझी, विवेक श्रेष्ठ, प्रिन्स शाह, कृष थिङ, असिम कुँवर, सुशान्त श्रेष्ठ, जेनिश कार्की र कार्साङ थिङ रहेका छन् । यस्तै, पुम्सेतर्फ चाँदनी हुयु, सुहान गुरुङ, कविन राई र रोशनी राई रहेका छन् ।
हेटौंडा उपमहानगरपालिकाभित्रका खेलाडीहरुबीच प्रतिस्पर्धा गराई प्रत्येक तौल समूहमा प्रथम हुने खेलाडीहरुलाई छनोट गरिएको मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजीरत्न बज्राचार्यले जानकारी दिनुभएको छ । छनोट प्रतियोगितामा सहभागी भएका करिब ८० जना खेलाडीहरुमध्ये २० जनामात्र छनोट हुन सफल भएको अध्यक्ष बज्राचार्यले बताउनुभयो ।
सहभागी भएका खेलाडीहरुको प्रतिनिधित्व गर्न टिम कोचको रुपमा तेक्वान्दो कार्यसमितिका सचिव विक्रम लामिछाने र म्यानेजरको रुपमा रवीन्द्र डंगोल माघ २४ गते काठमाडौं जानु हुनेछ । प्रतियोगितामा बागमती प्रदेशभित्रका महानगरपालिका र उपमहानगरपालिकाका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा पुरुषतर्फ २५ देखि २८ केजी तौल समूह, २८ देखि ३१ केजी तौल समूह, ३१ देखि ३४ केजी तौल समूह, ३४ देखि ३८ केजी तौल समूह, ३८ देखि ४२ केजी तौल समूह, ४२ देखि ४६ केजी तौल समूह, ४६ देखि ५० केजी तौल समूह र ५० देखि ५४ केजी तौल समूहका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ २३ देखि २६, २६ देखि २९, २९ देखि ३२, ३२ देखि ३५, ३५ देखि ३८, ३८ देखि ४२, ४२ देखि ४६ र ४६ देखि ५० केजी तौल समूहका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ ।