हेटौंडाः हेटौंडामा जारी छैठौँ संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै धनकुटाको राजारानी क्लब सेमिफाइनल प्रवेश गरेको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सोमबार भएको क्वाटरफाइनल खेलमा ३ पटकसम्म गोल्डकपको उपाधि विजेतासमेत रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै गोल्डकपमा पहिलो पटक सहभागी धनकुटाको राजारानी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरीमा खेल रोकिएपछि नतिजाको लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो । टाइबे्रकरमा पनि बराबरीमा रोकिएपछि खेल सडन डेथमा पुगेको थियो । विभागीय टोली त्रिभुवन आर्मी क्लबको तर्र्फबाट पहिलो हाफको ११ औं मिनेटमा रसवबहादुर मगरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोल अन्तरले पछि परेको राजारानी क्लबको तर्फबाट विदेशी खेलाडी अजय मार्टीनले दोस्रो हाफको ८४ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
टाइबे्रकरमा राजारानी क्लबका विशाल घलान, रुपेश केसी, दीप कार्की, प्रवेश दनुवार र उमेश कार्कीले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । राजारानीका सुनिल खड्काको प्रहारलाई त्रिभुवन आर्मी क्लबका गोलरक्षक समीर श्रेष्ठले रोकेका थिए । राजारानीका अशोक खवासले प्रहार गरेको बल पोष्ट माथिबाट गएको थियो ।
यस्तै, त्रिभुवन आर्मी क्लबका जितेन्द्र कार्की, कमल थापा, रसवबहादुर मगर र विमल पाण्डेले प्रहार गरेको बल गोलमा परिणत भएको थियो भने श्रीराम चौधरी र बसन्त जिम्बाले प्रहार गरेको बल पोष्ट बाहिर गएको थियो । त्रिभुवन आर्मीका सिद्धान्त चौधरीको प्रहारलाई राजारानी क्लबका गोररक्षक दीप कार्कीले रोकिदिएका थिए । खेलको म्यान अफ द म्याच राजारानी क्लबका गोलरक्षक दीप कार्की घोषित भएका छन् । म्यान अफ द म्याच बन्न सफल भएका कार्कीले १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत् मंगलबार अन्तिम क्वाटरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र ललितपुरको थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । आउँदो बुधबार राजारानी क्लबले फाइनल प्रवेशका लागि न्युरोड टिम (एनआरटी) काठमाडौंसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
प्रतियोगिताको उपाधि विजेता टिमले १५ लाख रुपैयाँ र उपविजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ३ सय ५० सीसीको बुलेट बाइक प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता आयोजनाका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, हेटौंडा उपमहानगरपालिकालगायत विभिन्न स्थानीय तहहरुबाट सहयोग प्राप्त भएको छ । यस वर्षको प्रतियोगिताको समापन कार्यक्रममा एक जना उत्कृष्ट सञ्चारकर्मीलाई ५० हजार राशिसहित सम्मान गरिने जनाइएको छ । प्रतियोगिताको फाइनल खेल माघ २७ गते हुनेछ ।