फाइल तस्बिर

हेटौंडाः आगामी चैत १५ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि हेटौंडाका विभिन्न विद्यालयहरुले तयारी गरिरहेका छन् । हेटौंंडाको आधुनिक राष्ट्रिय मावि र ज्ञानदा माविले एसर्ईईको लागि अन्तिम तयारी गरिरहेको बताइएको छ ।

हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविका ३ सय ४८ जनाले यस वर्ष एसईई दिने भएका छन् । एसईई आउन अब २ महिनामात्र रहेको हुँदा उत्कृष्ट नतिजाका लागि कक्षा १० का विद्यार्थीले परीक्षाको तयारी गरिरहेका हुन् ।

गतवर्ष शत प्रतिशत विद्यार्थीले उत्कृष्ट अंक ल्याएको र यसवर्ष पनि एसईईमा शत प्रतिशत नै राम्रो अंक ल्याउने लक्ष्य लिएको आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईंले बताउनुभयो । विद्यार्थीले नजानेको कुरा राम्रोसँग सिकुन् भन्नका लागि विद्यालयले प्रत्येक हप्ताको शनिबार परीक्षा लिने, जान्ने विद्यार्थी र कमजोर विद्यार्थी छुट्याएर कमजोर विद्यार्थीहरुलाई अतिरिक्त कक्षा सञ्चालन गरी पढाइरहेको छ ।

आधुनिक राष्ट्रिय माविमा कक्षा १० मा अध्ययनरत बेवी मर्जिनाले नबुझेका कुरा शिक्षक र साथीहरुसँग सोधेर सिक्ने, घरमा पनि नियमित रुटिन बनाएर पढ्ने गरिरहेको र शिक्षकले पनि विद्यार्थीको चाहना बुझेर पढाउने गरेको उहाँले बताउनुभयो । आफूहरुले एसईईमा राम्रो नतिजा ल्याउन नियमित विद्यालय आउने, बुझेको कुरा कक्षामा छलफल गर्ने र नबुझेको कुरा शिक्षकलाई सोध्ने गरिरहेको उहाँको भनाइ छ ।

यसैगरी, हेटौंडा–१० स्थित ज्ञानदा माविबाट १९ जनाले एसईई दिने भएका छन् । विद्यालयले विद्यार्थीको राम्रो नतिजा ल्याउन अतिरिक्त कक्षा पढाउँदै आएको, साप्ताहिक परीक्षा लिने गरेको र विद्यार्थीले नबुझेको कुरा सिकाउने गरेको विद्यालयका गणित विषय शिक्षक सविना वाइबाले जानकारी दिनुभये । शिक्षकले पढाएको कुरा विद्यार्थीले गम्भीर भएर पढ्ने गरेको उहाँले बताउनुभयो ।