अबको करिब ३ महिना विद्यालय तहको विभिन्न कक्षाको वार्षिक परीक्षाको चहलपहलमा बित्नेछ । हाल कक्षा १२ सम्म माध्यमिक शिक्षा भन्ने गरिएको छ । यसअन्तर्गत् कक्षा ८ को अन्त्यमा आधारभूत तह उत्तीर्ण परीक्षा (बीएलई), कक्षा १० को अन्त्यमा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्त्यमा एसएलसी परीक्षाको व्यवस्था गरिएको छ । कक्षा ८ को बीएलई स्थानीय तहले, कक्षा १० को एसईई र कक्षा १२ को अन्तिममा हुने एसएलसी परीक्षा संघीय सरकारअन्तर्गत्को राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने गरेको छ । कक्षा १० को एसईई सुरु हुन अब दुई महिना बाँकी छ । एसईई अघि नै कक्षा ९ सम्मका परीक्षा हुनसक्ने सम्भावना देखिएको छ । कक्षा १२ को एसएलसी परीक्षा भने वैशाख दोस्रो सातातिर सञ्चालन हुनेछ । विद्यालय तहको दोस्रो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गर्दै विद्यालयहरुले अन्तिम परीक्षाको लागि पठनपाठन तिब्र पारेका छन् । एसईई परीक्षामा सहभागी हुने विद्यार्थी तथा अन्य कक्षाका विद्यार्थीका लागि विद्यालयहरुले अतिरिक्त कक्षा, साप्ताहिक परीक्षालगायतका थप तयारी गरिरहेका छन् ।
मकवानपुर जिल्लाका निजी विद्यालयहरुमा एसईई अभ्यास परीक्षा आइतबारबाट सुरु भएको छ । जिल्लाका ३८ वटा निजी विद्यालयका एक हजार दुइ सय ४२ विद्यार्थी परीक्षामा सहभागी छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले मकवानपुरसहित देशभर एकसाथ अभ्यास परीक्षा सञ्चालन गरेको हो । फरक विद्यालयमा परीक्षा केन्द्र तोकेर अभ्यास परीक्षा सञ्चालन गरिएको छ । हेटौंडा उपमहानगरपालिकामा ५ वटा, थाहा नगरपालिकामा दुई वटा र मनहरी गाउँपालिकामा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । नगरस्तरीय शैक्षिक समन्वय समितिले पनि हेटौंडा उपमहानगर भित्रका सामुदायिक विद्यालयमा माघ २५ गतदेखि एसईई पूर्वतयारी परीक्षा सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । परीक्षाले विद्यार्थीको अवस्था मूल्यांकन गर्न सजिलो हुने र विद्यार्थीमा परीक्षाको डर पनि कम हुने भएकाले विद्यालयहरुले परीक्षाको तयारीका लागि परीक्षालाई नै उपाय अपनाउने गरेका छन् ।
कक्षा १२ सम्मका सबै कक्षाका वार्षिक परीक्षा नजिकिएसँगै अधिकांश विद्यार्थी, शिक्षक, विद्यालय, अभिभावक परीक्षाको तयारीमा जुटेका छन् । अहिले विशेषगरी एसईई परीक्षा र त्यसको नतिजालाई सबैले उच्च महत्व दिने गरेका छन् । हुन त कक्षा १० को एसईई कक्षा ११ मा भर्ना हुने एउटा आधारमात्र हो । कक्षा १२ सम्म विद्यालय शिक्षा भएकाले कक्षा १२ को परीक्षालाई बढी महत्व दिनुपर्ने भए पनि अधिकांश माध्यमिक विद्यालयमा कक्षा १० सम्ममात्र पठनपाठन हुने भएकाले अझै पनि एसईई परीक्षा र यसको नतिजालाई विद्यालयको शैक्षिक गुणस्तर मापनको मुख्य आधार बनाउने गरिएको हो । पछिल्लो समय एसईई परीक्षालाई प्रदेश वा जिल्लास्तरमा सञ्चालन गर्नुपर्ने विषयमा बहस र चर्चा हुने गरेको भए पनि यसको टुंगो लागिसकेको छैन । यसकारण एसईई परीक्षा राष्ट्रियस्तरमै सञ्चालन भइरहेका कारण यसले महत्व पाउँदै आएको मान्न सकिन्छ ।
कतिपय विद्यार्थी परीक्षादेखि डराउने गरेका छन् । परीक्षालाई अधिकांश विद्यार्थीले बोझको रुपमा लिने गरेको पाइन्छ । आफूले वर्ष दिनभरि पढेका विषयवस्तुको ज्ञान, सीप र धारणा मापन गर्न परीक्षा लिइन्छ । विद्यार्थीले पढेका, सिकेका र जानेका विषयवस्तुलाई सोधिएका प्रश्नको आधारमा उत्तर पुस्तिकामा लेख्ने र त्यसको आधारमा विद्यार्थीको सिकाई स्तर मूल्यांकन गर्ने काम परीक्षाबाट हुन्छ । यसकारण परीक्षा भनेको विद्यार्थी जीवनको एउटा सामान्य प्रक्रिया हो । विद्यार्थीको जीवनमा यस्ता परीक्षा अनगिन्ती हुन्छन् । यसकारण विद्यार्थीले परीक्षालाई एउटा स्वभाविक र नियमित प्रक्रिया सम्झेर सामान्यरुपमा लिनुपर्छ । परीक्षामा आत्तिने गर्नु हुँदैन । परीक्षालाई लिएर अनावश्यक डर, त्रास लिनु हुँदैन । परीक्षालाई सामान्य ठान्दै आफूले पढेका विषयवस्तुको सृजनात्मक तरिकाले उत्तर दिनुपर्छ । यसका लागि विद्यार्थीले विभिन्न परीक्षामा सहभागी हुनुपर्छ र भइरहेका पनि छन् । अन्तिम परीक्षाको तयारीका लागि परीक्षा लिइँदा विद्यार्थीमा सकारात्मक प्रभाव पर्नु आवश्यक छ ।