हेटौंडाः बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा कार्यरत विकास साझेदार संघसंस्थासँग समन्वय बैठक भएको छ । शुक्रबार हेटौंडा–४ स्थित होटेल सामनामा दातृ निकाय तथा साझेदार संघसंस्थाहरुसँग स्वास्थ्य मन्त्रालयको समन्वय बैठक भएको हो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको अध्यक्षता र स्वास्थ्य मन्त्रालयका मन्त्री उत्तम जोशीको प्रमुख आभिभावकत्व रहेको थियो । कार्यक्रममा मन्त्रालयअन्तर्गत्का २५ वटा संघसंस्थामध्ये १५ वटा संघसंस्थाको सहभागिता रहेको थियो भने ११ वटा प्रस्तुतिकरण र छलफल भएको थियो ।
विकास साझेदार संघसंस्थाका कार्यक्रमहरुलाई स्वास्थ्य मन्त्रालयको नीति तथा कार्यक्रममा प्राथमिकता प्राप्त कार्यक्रमहरुसँग सामञ्जस्यता बढाउने उद्देश्यले कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. खगेश्वर गेलालले विकास साझेदार संघसंस्थाहरु र स्वास्थ्य मन्त्रालयको समन्वयलाई सुदृढीकरण गर्ने र विकास साझेदार संघसंस्थाहरुको कार्य क्षेत्र र कार्यक्रमहरुको बारेमा छलफल गरी दोहोरोपना न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम भएको बताउनुभयो ।
उहाँले स्वास्थ्य मन्त्रालयको आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालित कार्यक्रमहरु, मुख्य उपलब्धीहरु र विकास साझेदार संघसंस्थाहरुप्रति स्वास्थ्य मन्त्रालयको अपेक्षा जानकारी गराउनुभयो । यस्तै, मन्त्रालयका विकास साझेदार संघसंस्थाहरुले प्रदेशमा कार्यरत विकास साझेदार संघसस्ंथाहरुको मुख्य कार्यक्षेत्र, कार्यक्रम र कार्यक्रमको उपलब्धीबारे प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रदेश स्वास्थ्य अधिकृत हरि भुसालले बागमती प्रदेशमा स्वास्थ्य क्षेत्रमा कार्यरत विकास साझेदार निकायहरुको नक्साङ्कनको प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा मोमेन्टम संस्थाकी सुबी जोशी र सुष्मा राजवंशीले किशोर–किशोरी तथा युवाहरुमा परिवार नियोजनका साधनप्रतिको अवधारणा र प्रयोगसम्बन्धी अध्ययनको नतिजाको प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा स्वास्थ्यमन्त्री जोशीले स्थानीय जनताले स्वास्थ्य सेवा पाउने गरी सुझाव दिन आग्रह गर्नुभयो । मन्त्रालयका सचिव खड्काले स्वास्थ्य क्षेत्रलाई सरकार एक्लैले सुधार गर्न नसक्ने भन्दै स्वास्थ्य क्षेत्रमा आवद्ध सबैले हात मिलाउनुपर्ने बताउनुभयो । विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोग र मोमेन्टमको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।











