हेटौँडाः १४ औँ संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन भएको छ । शुक्रबारबाट सुरु भएको जिल्लास्तरीय प्रतियोगिताको उद्घाटन शनिबार बिहान बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वन तथा वातावरण मन्त्री खड्काले प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडीलाई शुभकामना व्यक्त गर्नुभयो ।
प्रतियोगितामा सहभागी भएका खेलाडीहरुलाई अनुशासनको पालना गर्न पनि उहाँले आग्रह गर्नुभयो । खेलकुदको माध्यमबाट खेलाडीहरु प्रदेशस्तरीय हुँदै राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने विश्वास व्यक्त गर्नुहुँदै खेलकुदले मानिसलाई धेरै कुराहरु सिकाउन सक्ने प्रष्ट पार्नुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्कीले जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराउनका लागि अबदेखि २ साता बन्द प्रशिक्षणमा राख्न लागेको जानकारी गराउनुभयो । २ साता बन्द प्रशिक्षणमा सहभागी भएमा खेलाडीहरु अझ राम्रो नतिजा प्राप्त गर्ने अपेक्षा रहेको उहाँले बताउनुभयो ।
प्रतियोगितामा मकवानपुर जिल्लाका १० वटा पालिकाका विद्यालयबाट करिब ७ सय जना खेलाडीहरु सहभागी भएका छन् । प्रतियोगिता अन्तर्गत अहिले बहुउद्देश्यीय कभर्ड हलमा तेक्वान्दो, हुप्रचौरमा महिला तथा पुरुष भलिबल, एथ्लेटिक्स लगायतका खेलहरु सञ्चालन भइरहेका छन् । उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिना, मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष सानु लामा दोङ, कार्यालय प्रमुख माधव कोइराला, सितोरितो कराँते संघका अध्यक्ष दीपक बहादुर तामाङ, मकवानपुर जिल्ला फुटबल संघका महासचिव छवी सुवेदीको पनि उपस्थिति रहेको थियो ।











