हेटौंडाः नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीले राजनीतिलाई सेवाको रुपमा हेर्न आवश्यक रहेको बताउनुभएको छ । जनताको सेवाको लागि नेपाली कांग्रेस स्थापना भएकाले राजनीति गर्ने व्यक्ति सेवा भावको हुनुपर्ने उहाँले बताउनुभएको हो ।

शुक्रबार हेटौंडामा नेपाली कांग्रेसको ७८ औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताउनुभएको हो । वि.स २००३ सालमा स्थापना भएको नेपाली कांग्रेसले राज्यको सेवा गरी जनताको अधिकार दिलाउन लागेको भन्दै उहाँले नेपाली कांग्रेस सेवाको राजनीति गर्न स्थापना भएको बताउनुभयो । विभिन्न नेताको त्यागले कांग्रेस पार्टी बनेको स्मरण गर्दै उहाँले पार्टीमा जिम्मेवार व्यक्तिले आफ्नो जिम्मेवारीअनुसार काम गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीमा विकृति फैलिएको छ, जिम्मेवार पदमा रहेका व्यक्तिहरुले आफू काम बिर्सने तर अरुले काम गरेन भनेर आरोप लगाउने कार्य भइरहेको छ ।’ नेता सिंहले नेपाली कांगे्रसले अन्य पार्टीले गर्न नसकेको काम गरेको भन्दै संविधान जारी गर्न सफल भएको बताउनुभयो ।

नेपाली कांग्रेसका पूर्वमन्त्री राजन केसीले पार्टीको स्थापना लोकतन्त्र स्थापना गर्न भएको बताउनुभयो । देशमा संघीयता आएता पनि कानुन बाझिँदा काम गर्न असहज भएको उहाँको भनाइ छ । निजामती ऐन, प्रहरी ऐन र जग्गा प्राप्ती ऐनको विधेयकमा छलफल गर्न आवश्यक भएकाले पार्टीले आगामी अधिवेशनमा छलफल गर्ने बताउनुभयो । केसीले पार्टीले आर्थिक क्रान्ति गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । देशमा प्रजातन्त्र र अर्थतन्त्र बलियो हुनुपर्ने बताउँदै आर्थिक क्रान्ति नभए लोकतन्त्र बलियो नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले लोकतन्त्र ल्याउन नेपाली कांग्रेसले ठूलो भूमिका खेलेको बताउनुभयो । देशमा राजनैतिक परिवर्तन, सांस्कृतिक परिवर्तन कांग्रेसका नेता बीपी कोइरालालेले गरेको उहाँले बताउनुभयो । कांग्रेसको कार्यलार्ई हेरेर आफूले राजनीतिमा धेरै सिकेको उहाँको भनाइ छ ।

नेपाली कांग्रसको बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा नेपाली कांग्रेसका पूर्वमहामन्त्री सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा, बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रामकृष्ण चित्रकार लगायत सत्ता गठबन्धनका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा बागमती प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरुलाई शुभकामना प्रदान गरिएको थियो । सोही अवसरमा नेपाल उद्योग वाणिज्य संघका पूर्वसदस्य राजकुमार न्यौपानेलगायतका व्याक्तिहरु पार्टीमा प्रवेश गरेका थिए ।