हेटौंडाः हेटौंडामा शुक्रबार मिथ्या सूचनाविरुद्ध अन्तरक्रिया भएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा अन्तरक्रिया भएको हो ।

अन्तरक्रियामा बोल्नुहुँदै बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले मिथ्या सूचना रोक्न राजनीतिक क्षेत्र जिम्मेवार हुनुपर्ने बताउनुभयो । पछिल्लो समय समाजमा शैक्षिक अवस्थामा विकास र परिवर्तन नहुँदा जनताहरु मिथ्या सूचनामा भर पर्ने गरेको उहाँले बताउनुभयो । हरेक कुराको निकास शिक्षाबाट सम्भव भएको भन्दै उहाँले सबैलाई सचेत बनाउनुपर्ने बताउनुभयो । तीन तहका सरकारले शिक्षा क्षेत्रमा विकास गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

बागमती प्रदेशका सञ्चार रजिष्ट्रार कार्यालय प्रमुख रेवती सापकोटाले पछिल्लो समयमा कम साक्षर भएका मानिसलाई मिथ्या सूचनाले प्रभाव पारेको बताउनुभयो । अहिले आमसञ्चारका माध्यमलाई विश्वास नगरी अन्य सामाजिक सञ्जाललाई विश्वास गर्दा मिथ्या सूचना झन बढ्दो अवस्थामा रहेको उहाँले बताउनुभयो ।

पछिल्लो समयमा आमसञ्चारका माध्यमहरुले उठाउनुपर्ने विषयलाई नै अन्य सामाजिक सञ्जालले उठाउँदा जनमानसको विश्वास आमसञ्चारबाट गुमेको हुनसक्ने उहाँको भनाइ छ । उहाँले मिडियाबारे नीति बनाउँदा राष्ट्रियरुपमा नै बनाउनुपर्ने बताउनुभयो ।

संस्थाका कार्यकारी निर्देशक तिलक पाठकले पछिल्लो समयमा मिथ्या सूचना फैलिँदै गइरहेको बारेमा जानकारी गराउनुभयो । अहिले मुख्यगरी राजनीतिक दल र अभियानहरुले नै विपक्षीहरुको बदनाम गर्न गलत सूचना प्रवाह गरिरहेको बताउनुभयो । राजनीतिक दलले निर्वाचनको बेला सबैभन्दा बढी मिथ्या सूचना फैलाउने काममा सक्रिय हुने गरेको उहाँले बताउनुभयो । यस्तै, समाजमा घृणा फैलाएर आफ्नो स्वार्थसिद्ध गर्न चाहने समूहले मिथ्या सूचना प्रवाह गरेको उहाँले बताउनुभयो । यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।

अन्तरक्रियामा बागमती प्रदेशसभा सदस्यहरु रत्न ढकाल, माया श्रेष्ठ, रमा आले मगरलगायतको उपस्थिति रहेको थियो ।