हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा पक्की र झोलुङ्गे पुलको शिलान्यास भएको छ । शुक्रबार एक कार्यक्रमका बीच बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी र गाउँपालिकाका अध्यक्ष सर्केश घलानले दुईवटा पुलको शिलान्यास गर्नुभएको हो ।

बागमती गाउँपालिकाका अध्यक्ष घलानका स्वकीय सचिव मनोज बलका अनुसार वडा नम्बर ५ स्थित लीलावन र बगेरी जोड्ने लिती खोलामा पक्की पुल र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ जोड्ने स्थानमा झोलुङ्गे पुल शिलान्यास भएको हो ।

जनमुक्ति मार्गमा पर्ने पक्की पुलको निर्माणको जिम्मा तान्डप जेभी हेटौंडाले लिएको छ । बागमती प्रदेशको भौतिक पूूर्वाधार मन्त्रालयबाट पक्की पुलका लागि चालु आर्थिक वर्ष २०८०/०८१ मा २ करोड ९८ लाख बजेट विनियोजन भएको छ । तान्डपले २ करोड १२ लाख रुपैयाँमा पुल निर्माणको जिम्मा लिएको हो । २५ मिटर लम्बाई र ८.४ मिटर चौडाईको पुल चालु आर्थिक वर्षको अत्यसम्ममा निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ ।

पुल नहुँदा उक्त स्थानमा वर्षायामको समयमा सवारी साधन तथा मान्छेहरुलाई आवतजावत गर्न कठिन हुने गरेको छ । पुल निर्माण भएपछि बागमती गाउँपालिका हुँदै काभ्रेको महाभारत गाउँपालिका र धुलिखेलसम्म सवारी साधनहरु आवतजावत गर्न सहज हुनेछ ।

यस्तै, बागमती र हरिहरपुरगढी गाउँपालिका जोड्ने झोलुङ्गे पुल निर्माणको जिम्मा रामेछापको दावा कन्ट्रक्सनले पाएको छ । पुल १ सय ९४ मिटर लम्बाई र १ दशमलब २० मिटर चौडाईमा निर्माण हुनेछ । झोलुङ्गे पुल पनि चालु आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ ।

प्रादेशिक सडक डिभिजन सिन्धुलीले टेन्डर गरेको पुलमा बागमती प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट रहेको जनाइएको छ । पुल निर्माण सम्पन्न भएपछि दुबै पालिकाका जनताहरुलाई बागमती नदी पार गर्न सहज हुनेछ । प्रदेशसभा सदस्य पुलामीले उक्त पक्की पुल र झोलुङ््गे पुलको निर्माण कार्य समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । प्रदेश सांसद पुलामी र पालिका अध्यक्ष घलानले चुनावमा गर्नुभएको वाचा र आवश्यकता अनुसार पुल निर्माण कार्य सुरु गरेको सचिव बलले बताउनुभयो ।

पुल शिलान्यास कार्यक्रममा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य एवम् बागमती गाउँपालिका इन्चार्ज ज्ञान सागर लामा, पालिका कमिटीका अध्यक्ष अरुण बल, बागमती–५ का वडा अध्यक्ष विजय भोलन, ३ नम्बर वडा अध्यक्ष कमानसिंह पाख्रिन, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान र हरिहरपुरगढी–१ का निवर्तमान अध्यक्ष कर्साङ घलानलगायतको उपस्थिति रहेको थियो ।