हेटौंडाः बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले सरकारले मकवानपुरगढीलाई विशेष रुपले हेर्न आवश्यक रहेको बताउनुभएको छ । बुधबार मकवानपुरगढीको २ सय ६१ औं विजय उत्सवमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
पयर्टनको दृष्टिकोणले सम्भावित गढीलाई विकास गर्न तीन तहको सरकारले विशेष ध्यान दिएर काम गर्नुपर्ने उहाँले बताउनुभयो । यसअघि आफ्नो पहलमा प्रदेशले बहुवर्षीय योजनामा मकवानपुरगढीलाई ९ करोड रुपैयाँ बजेट छुट्याएको बताउनुहुँदै उहाँले थप कार्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भविष्यमा मकवानपुरगढीलाई गुरुयोजना बनाएर प्राचिन शैलीमा निर्माण अगाडि बढाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।
अरु क्षेत्रसमेतको सर्किट बनाएर विभिन्न गढीसँग जोड्दै प्रदेशको पौराणिक क्षेत्रको रुपमा विकास गर्न आफूले पहलसमेत गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । नेपालमा रहेका ठूला किल्लामध्ये मकवानपुगढी एक भएको बताउनुहुँदै मकवानपुरगढीको विशेषता अझ बढी रहेको बताउनुभयो । उहाँले इतिहासमा धेरैै राजा र व्यवस्था फेरिए पनि पृथ्वीनारायण शाहलाई भने यो धर्तीले सधैं सम्झिरहने बताउनुभयो । उहाँले गढीको सुरक्षाका लागि रक्षा मन्त्रालयसँग समन्वय गरी गढीलाई सुरक्षा दिन पहल गर्ने बताउनुभयो ।
बागती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले नेपालमा रहेका विभिन्न गढीमध्ये मकवानपुरगढीको लडाईं र संगठन निर्माणको हिसाबले छुट्टै महत्व रहेको बताउनुभयो । सरकार र नेताहरुले विजय उत्वस मनाएर इतिहासका कुरामात्रै गर्न नहुने बताउनुहुँदै यसको संरक्षण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले अहिले गढीको इतिहास बोकेका हातहतियार र सामानहरु खोज्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
लडाईं लड्दा यहाँको सेनाले बङ्गाली सेनासँग कब्जा गरेको थुप्रै हातहातियारहरु २०३६ सालसम्म गढीमै रहे पनि अहिले सबै हातहतियार हराएपछि उहाँले यस्तो बताउनुभएको हो । उक्त हातहतियारहरु नेपाली सेनाको सुपारेटार व्यारेकमा ल्याइएपछि हराइरहेको भन्दै उहाँले हतियार फिर्ता गर्न सबै जनाले पहल गर्नुपर्ने बताउनुभयो । पुराना हतियार गढीमै ल्याउन सकेमा यस गढीको ऐतिहासिक महत्व थप वृद्धि हुने उहाँको भनाइ छ ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले गढीको सुरक्षा व्यवस्थापन गर्न कठिन भइरहेको बताउनुभयो । उहाँले यस स्थानमा पनि सेना राखेर गढीलाई थप सुरक्षा प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । पालिकाले पनि आन्तरिक पर्यटनलाई वृद्धि गर्न विभिन्न कार्यक्रम गरिरहेको उहाँले बताउनुभयो ।
मकवानपुरगढी–२ का वडा अध्यक्ष बखान सिंह पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका निवर्तमान स्वास्थ्यमन्त्री निमा लामा, गाउँपालिकाकी उपप्रमुख मानकुमारी पाख्रिन र मध्यपृतना हेडक्वाटरका पृतनापति उपरथी प्रदीपजंग केसीलगायतको आतिथ्य रहेको थियो ।