हेटौँडाः हेटौंडा–११ स्थित सहिद स्मारकमा बुद्ध पार्क उद्घाटन गरिएको छ । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले बुधबार पार्कको उद्घाटन गर्नुभएको हो । पार्क उद्घाटनपछि पौडेलले एउटा महत्वपूर्ण कार्य भएको बताउनुभयो । उहाँले सहिद सप्ताहका अवसरमा एक हप्तासम्म हुने कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।
पार्कमा गौतम बुद्ध जन्मेपछि हिँडेको बुद्धको मूर्ति देख्न सकिन्छ । सोही स्थानमा गौतम बुद्धकी माता मायादेवी, ब्रम्हा र इन्द्रको मूर्ति पनि राखिएको छ । समितिले सहिद दिवसलाई सप्ताहव्यापी मनाउने कार्यतालिका अनुसार बुधबार पार्कको उद्घाटन गरिएको सचिव रघुनाथ खुलालले जानकारी दिनुभयो । सहिद सप्ताहअन्तर्गत बिहिबार कृषि हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रवद्र्धन मेलाको शुभारम्भ, विविध साँस्कृतिक कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, शुक्रबार वडास्तरीय नृत्य प्रतियोगिता, शनिबार रक्तदान कार्यक्रमसँगै “सहिद र मदन भण्डारीको सपना साकार पार्नका लागि नवयुवाको भूमिका” विषयक् वक्तृत्वकला प्रतियोगिता हुनेछ ।
माघ १४ गते आइतबार वडास्तरीय वक्तृत्वकला प्रतियोगिता, माघ १५ गते सोमबार राष्ट्रिय कलाकारहरुको साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता तथा अन्तिम दिन माघ १६ गते प्रभातफेरी, सहिदप्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने सचिव खुलालले जानकारी दिनुभयो ।