नवनिर्वाचित अध्यक्ष रविन ढकाललाई अध्यक्षको माला लगाइदिनुहुँदै गणेश दर्पण अधिकारी ।

रजैया (मनहरी)ः मकवानपुरको पश्चिमी क्षेत्रका युवाहरुलाई समेट्दै स्थापना भएको चैनपुर जेसीज मनहरीको वर्ष सन् २०२४ को अध्यक्षमा रविन ढकाल पदस्थापित हुनुभएको छ । मंगलबार साँझ भएको प्रथम पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमका बीच संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारीले ढकाललाई अध्यक्षको माला हस्तान्तरण गर्दै अध्यक्षमा पदस्थापित गराउनुभयो ।

जेसीजको साधारणसभाबाट कार्यकारिणी उपाध्यक्षमा सुरेश गौतम र महेश खुलाल तथा उपाध्यक्षमा नवराज रिजाल, उज्वल बिष्ट, हरिशरण शिवाकोटी र जयराम रिजाल सर्वसम्मत चयन भएका थिए । अध्यक्ष ढकालले कानूनी सल्लाहकारमा श्रीराम खड्का, महासचिव कृष्णप्रसाद ढकाल, कोषाध्यक्ष मिलन ढुंगाना, सचिव मनोज चौलागाईं, शाखा सम्पादक राजु सुवेदीलाई मनोनित गर्नुभएको छ ।

नगद १० हजार रुपैयाँ राशीको माधवप्रसाद ढकाल स्मृति चैनपुर जेसीज मनहरी पत्रकारिता पुरस्कारबाट पत्रकार सुवास बिडारीलाई सम्मान गरिएको छ । जेसीजका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारीले प्रत्येक वर्ष पदस्थापन कार्यक्रममा दिने गरी आफ्नो छोरीको नामबाट सुविज्ञाश्री शैक्षिक प्रोत्साहन पुरस्कार घोषणा गर्नुभएको छ । मनोज बिष्टको संयोजकत्वमा भएको कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्य रहेको थियो । कालाखेतीले मनहरी क्षेत्रमा युवा र सामाजिक क्षेत्रमा काम गर्ने युवाहरूको संस्था थपिएकोमा खुसी व्यक्त गर्दै सहकार्यका लागि तयार रहेको बताउनुभएको छ । गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले संस्थालाई महिलामैत्री बनाउन सुझाव दिनुभएको छ ।