हेटौँडाः हेटौँडा–१८, हटियास्थित मकवानपुर बालविद्या सदनको खेलकुद सप्ताह सम्पन्न भएको छ । मंगलबारबाट सुरु भएको खेलकुद सप्ताह ५ दिनसम्म सञ्चालन भई आइतबार सम्पन्न भएको हो ।
खेलकुद सप्ताहमा विभिन्न खेलहरु आयोजना गरिएको थियो । प्रतियोगितामा निलो सदन प्रथम, पहेँलो सदन द्वितीय र रातो सदन तृतीय भएका छन् । प्रथम हुने सदनले ५ स्वर्ण, ७ रजत र ५ वटा कास्य पदक प्राप्त गरेको छ । यस्तै, द्वितीय हुने सदनले ५ वटा रजत र ३ वटा कास्य पदक प्राप्त गरेको छ भने तृतीय हुने सदनले ६ स्वर्ण र २ वटा रजत पदक प्राप्त गरेको छ ।
कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा–९ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कक्षा–६ देखि ९ सम्मका रातो सदन, पहेँलो सदन, निलो सदन र हरियो सदनका विद्यार्थीहरुको सहभागिता रहेको खेलकुद सप्ताहमा एथ्लेटिक्स, हाजिरीजवाफ, स्मरण शक्ति परीक्षण र बुद्धिचाल प्रतियोगिता भएको थियो ।
खेलकुद सप्ताहमा प्रथम हुने टिमलाई यो वर्षको सदन टिम घोषित गर्न लागेको बोर्डिङका प्रमुख प्रशासकीय अधिकृत सुदीप गिरीले जानकारी दिनुभएको छ । प्रतियोगिता प्रथम र द्वितीय हुने विद्यार्थीहरुलाई यही माघ २८ गते हुन लागेको अभिभावक भेलामा पदकसहित प्रमाणपत्र प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत गिरीले बताउनुभयो । प्रधानाध्यापक सुदीपराज गिरीको सभाध्यक्षतामा सम्पन्न भएको सप्ताहमा बोर्डिङका शिक्षकहरुको उपस्थिति रहेको थियो ।