सांकेतिक तस्वीर ।

हेटौँडाः मकवानपुरको थाहा नगरपालिका–८, दामगडेबाट प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा जिल्लाको पार्वतीकुण्ड गाउँपालिका–५ घर भई हाल थाहा नगरपालिका–९, नारायणहिटी बस्ने २७ वर्षीय प्रभात घले र थाहा नगरपालिका–३ दमकी घर भई हाल थाहा नगरपालिका–६ बज्रबाराही बस्ने ३२ वर्षीय रण बहादुर थिङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलिले भित्री सडक खण्डमा गल्छीबाट पालुङ जाँदै गरेको बा १५ च ३९२९ नम्बरको बोलेरोलाई सुरक्षाजाँच गर्दा बोलेरोमा लुकाई ल्याएको लागुऔषध गाँजा ५० किलो बरामद गरेको थियो । लागुऔषध गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।