हेटौैँडाः मकवानपुरको थाहा नगरपालिकामा भएको जिल्लास्तरीय रनिङ शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधि बकैया गाउँपालिकाको जनक माध्यमिक विद्यालयले जितेको छ । शनिबार थाहा नगरपालिका–१० स्थित नाटेश्वर माध्यमिक विद्यालयको भलिबल कोर्टमा भएकोे फाइनल खेलमा जनक माविले हेटौँडा–५ स्थित जीएस निकेतनलाई ३–१ को सेटले पराजित गर्दै उपाधि जितेको हो ।
पहिलो र दोस्रो सेटमा २५–१४ र २५–१९ ले जितेर सहजै अगाडि बढेको जनक मावि तेस्रो सेटमा १८–२५ ले पराजित भयो । चौथो सेटमा भने २५–१७ ले पराजित गर्दै जनक मावि उपाधि विजेता बन्न सफल भएको हो । प्रतियोगिताको उपाधि विजेता जनक माविको टिमले २५ हजार रुपैयाँ, उपविजेता जीएस निकेतनको टिमले १५ हजार रुपैयाँ र सेमीफाइनलमा पराजित हुने जनता मावि र नाटेश्वरी माविको टिमले ५/५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी जनक माविका प्रदीप लामा घोषित भएका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुर तथा नाटेश्वर माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा सामुदायिक र संस्थागत गरी २१ वटा विद्यालयको सहभागिता रहेको थियो । यसअघि शनिबार नै सम्पन्न भएको सेमीफाइनल खेलमा जनक माविले फापरवारीस्थित जनता माविलाई २–० को सोझो सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । जनक माविले जनता माविलाई २५–१२ र २५–२१ को सोझो सेटले पराजित गरेको थियो । यस्तै शनिबार नै भएको अर्को सेमीफाइनल खेलमा जीएस निकेतनले आयोजक नाटेश्वरी माध्यमिक विद्यालयलाई २–० को सोझो सेटले पराजित गरेको थियो । जीएस निकेतनले नाटेश्वरीलाई २५–१५ र २५–१६ को सेटले पराजित गरेको छ ।











