हेटौँडाः कपडा तथा तयारी पोशाक व्यवसायी रविन्द्रप्रसाद घिमिरेलाई हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले नगर खेलकुद विकास समितिको संयोजकमा मनोनित गर्नुभएको छ । नगर प्रमुखस्तरीय निर्णयबाट घिमिरेलाई नगर खेलकुद संयोजकको जिम्मेवारी दिने निर्णय बिहिबार भएको हो । शुक्रबारदेखि लागु हुने गरी उपमहानगरले घिमिरेलाई ३ वर्षका लागि संयोजकको जिम्मेवारी दिएको हो ।
घिमिरे यसअघि मकवानपुर जिल्ला खेलकुद विकास समितिको सदस्य समेत हुनुभएको थियो । घिमिरेसँगै सदस्यमा सुनिल लोप्चन, यज्ञबहादुर राय र विजय गौतमलाई नियुक्त गरिएको छ । नगर खेलकुद विकास समितिमा एकजना संयोजक २ जना महिलासहित ५ जना सदस्य रहने व्यवस्था छ । नगर खेलकुद विकास समिति ऐन–२०७७ को दफा ३ को उपदफा २ मा भएको व्यवस्था बमोजिम संयोजक र सदस्य नियुक्त गरिएको हो । संयोजक र ३ जना खुला सदस्यको सूचि सार्वजनिक भए पनि २ जना महिला सदस्यको विषयमा भने कुनै किसिमको जानकारी सार्वजनिक भएको छैन ।
उपमहानगरपालिकाले खेलकुदमा पदाधिकारी नियुक्तिको विषयमा औपचारिक जानकारी गराएको छैन । नगर प्रमुखले काँग्रेस, एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी सम्वद्ध व्यक्तिहरुलाई नगर खेलकुदको संयोजक र सदस्यमा मनोनित गर्नुभएको छ । संयोजक घिमिरे नेपाली काँग्रेस, लोप्चन नेकपा एमाले, राय नेकपा एकीकृत समाजवादी र गौतम नेकपा माओवादी केन्द्रसम्वद्ध हुनुहुन्छ । गत साउन २६ गते नै यसअघिको नगर खेलकुद विकास समितिको कार्यकाल पूरा भइसके पनि समितिको संयोजकमा काँग्रेस र माओवादीको दावी भइरहँदा समिति गठनमा ढिलाई भइरहेको थियो । नगर खेलकुद विकास समितिको संयोजकलाई मासिक २० हजार रुपैयाँ भत्ता र पेट्रोल १५ लिटर सुविधा रहने गरेको छ भने सदस्यलाई बैठक भत्ताको मात्रै व्यवस्था रहेको छ ।











