घरदैलो अभियानको क्रममा खिचीएको तस्वीर ।

हेटौँडाः हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाले बालमैत्री कार्यक्रम अन्तर्गत घरदैलो अभियान आइतबारबाट सञ्चालन गरेको छ । आइतबार पहिलो दिन बालमैत्री स्थानीय शासन घोषणाका लागि पूरा गर्नुपर्ने काम अन्तर्गत घरदैलो अभियान संचालन गरी बसपार्क क्षेत्रको किराना पसल, ग्यारेज र होटल संचालकहरुलाई हस्ताक्षर गराई ६६ वटा फ्लेक्स टाँसिएको वडा सहजकर्ता सविता विष्टले बताइन् ।

“बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने नाराका साथ पसल व्यवसायीहरुमा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई चुरोट, सुर्ती, मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने र बालश्रममा लगाउन नपाउने र लगाए कानुनी व्यवस्थासम्बन्धी सचेतना अभियान संचालन गरेको १० नम्बर वडा सदस्य गोमा सुनारले जानकारी दिनुभयो ।

१० नम्बर वडाले आयोजना गरेको घरदैलो अभियानमा १० नम्बर वडा प्रतिनिधिहरु, सामुदायिक प्रहरी उपसेवा केन्द्र बसपार्क, १० नम्बर वडा सहजकर्ता, साना हातहरु नेपाल, बालश्रम कार्यालयका कर्मचारी, बाल संरक्षक संस्था, टोल विकास संस्था, नगर प्रहरी लगायतको उपस्थितिमा अभियान संचालन गरिएको थियो ।

बालबालिकालाई कुनै पनि निकृष्ट प्रकारको श्रममा लगाउने छैनौं, १८ वर्ष मुनिका बालबालिकालाई सुर्तीजन्य, मदिराजन्य पदार्थको खरिद बिक्री वितरण गर्ने कार्यमा प्रयोग गर्ने छैनौं, नेपालको कानुन बमोजिम विवाह गर्ने उमेर भन्दा कम कम उमेरमा गरिने विवाहलाई निरुत्साहित गर्ने छौं र बालमैत्री स्थानीय शासनको महाअभियानलाई कार्यान्वयनका लागि सहयोग गर्छौ भन्ने फ्लेक्समा हस्ताक्षरको साथै प्रतिबद्धता गराई प्रत्येक पसल, होटेलमा टासिंएको थियो ।

सचेतनामुलक फ्लेक्समा १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामा, वडास्तरीय बाल समूह सञ्जालकी संस्कार ज्ञवाली र पसल संचालकको हस्ताक्षर गराइएको थियो । बालमैत्री अभियानसँगै सामुदायिक प्रहरीले पाकेटमारी, चोरी र लुटपाटबाट बच्ने उपाय सम्बन्धित प्रचा बाँड्दै सचेतना फैलाउने काम समेत गरेको सामुदायिक प्रहरी हवल्दार सीता खत्रीले जानकारी दिनुभएको छ ।